काठमाडौं । एउटी गर्भवती महिलाले आफूले खान लागेको सुपमा मरेको मुसा भेटेपछि रेस्टुरेन्टहरूको सञ्जाल भएको एउटा चिनियाँ कम्पनीको बजार मूल्य १९ करोड डलरले घटेको छ।
चप्स्टिकले च्यापेर सुपबाट निकालिएको मुसाको तस्बिर सामाजिक सञ्जालहरूमा फैलिएपछि जायबु जायबु रेस्टुरेन्टको शेयर मूल्य एक वर्षको सबैभन्दा न्यून विन्दुमा पुगेको हो।
मरेको मुसा भएको सुप बेच्ने शान्डोङ प्रान्तस्थित रेस्टुरेन्ट भने केही समयका लागि बन्द गरिएको छ। उसले ती ग्राहकलाई पाँच हजार युआन क्षतिपूर्ति दिन खोजेको बताइएको छ।
ती महिलाका पतिलाई उद्धृत गर्दै एउटा स्थानीय समाचार संस्थाले त्यो रकम उनीहरूले लिन अस्वीकार गरेको जनाएको छ। मा भनेर एउटा नामबाट चिनाइएका ती व्यक्तिले आफ्नी गर्भवती पत्नीको पूरै शारीरिक परीक्षण गरेपछि मात्रै क्षतिपूर्तिबारे निर्णय गर्न चाहेको बताएका छन्।
गत सेप्टेम्बर ६ मा उनीहरू सपरिवार सो हट्पट रेस्टुरेन्टमा खाना खान गएका थिए। केही गाँस खाएपछि ती महिलाले आफ्नो खानामा मरेको मुसा फेला पारिन्।
यदि उनलाई आफ्नो गर्भमा रहेको बच्चाको स्वास्थ्यबारे चिन्ता भए गर्भपतन गराउने सल्लाह सो रेस्टुरेन्टका एक कर्मचारीले दिएको र त्यसका लागि २० हजार युआन दिने बताएको ती महिलाका पतिले जनाएका छन् । बीबीसी