काठमाडौं । लोक तथा दोहोरी गीतको क्षेत्रमा गायक नविन पौडेल नयाँ नाम होईन । पाल्लामा आमा कमलादेवी र बाबा लिलाधरको कोखबाट २०३६ सालमा जन्मिएका गायक पौडेले आजको दिनसम्म आईपुग्दा तीन सय बढि गीतमा आवाज दिईसकेको बताउछन् ।
दुई सन्तान र जीवनसंगीनीको साथमा संघीय राजधानी काठमाडौंमा बस्दै आएका पौडेल आफै र्सिजना गरेर गीत गाउने कलाकार भित्र पर्दछन् ।
स्टेज तताउनमा माहिर गायक पौडेलको सञ्चारकर्मी र एनआरएनको केन्द्रीय टिमसँग राम्रो सम्बन्ध रहेका गायक हुन । गैर आवासिय संघका पूर्व नेतृत्व र वर्तमान नेतृत्वको विश्वास जित्न सफल पौडेल केही समय पहिले यूरोपका विभिन्न देशमा पुगेर फर्किएका थिए ।
यूरोपको अनुभव सुनाउँदै उनले भने,‘हाम्रो देशमा संस्कृतिलाई बचाउने भन्दा पनि कसरी मास्न र बिगार्न सकिन्छ भनेर लागेको पाईन्छ, विदेशीहरुमा आफ्नो संस्कृतिको बारेमा चिन्ता हुन्छ, हाम्रोमा जसले जे गरेपनि भएको छ, जुन स्थानमा मनलाग्दी बोलेपनि भएको छ ।’
नेपाली गीत संगीतको विकास क्रमले केही उचाई लगेको स्थितिमा अडियो, भिडियो हुँदै स्टेजको माहोल अनुसारका गीत बन्न थालेका छन् । गायक पौडेल स्टेजमा जम्ने र समुदायमा नयाँ चेतना दिनेखालका गीतहरु सिर्जना गर्नुपर्छ र गायकहरुले समाजको ऐना बन्ने कोसिस गर्नुपर्छ भन्नेमा छन् ।
स्टेज कार्यक्रमहरु हात पार्नको लागि सिण्डिकेट रहेको भन्दै अग्रज कलाकारहरुले यसमा ध्यान दिन सुझाव समेत दिएका छन् भन्दा अन्यथा नहोला । उनले भने,‘केही कलाकारहरुले आफू र आफ्ना पायक पर्ने कलाकारहरुलाई मात्रै स्टेजका कार्यक्रमहरुमा स्थान दिने गरेको स्वय मैलेनै देखेको छु, मैले भोगेको पनि छु, आगामी दिनहरुमा यस्तो हुनु भएन भन्ने सुझाव दिन चाहन्छु ।’
कला क्षेत्रको विकास र विस्तारमा कलाकारहरुकोनै ठूलो भूमिका रहने भन्दै सपार्ने र बिगार्ने जिम्मा पनि कलाकारहरु कै रहने उनको तर्कछ ।उनले भने,‘कलाकार राज्यको गहना मात्रै होईन वर्तमान राज्य सत्ताको साझेदार बन्ने आट राख्नुपर्छ, म चाहन्छु, मैले एक हजार कमाउदा अर्कोले पनि त्यतिनै कमाओस्, सम्पूर्ण नेपालीहरुको जीवन समान र सम्मान जनक स्थितिको होस्, एकले अर्काको अस्तित्व सबैले स्वीकार गर्न सकियोस्, धनी र गरिबबीचको दुरी समानहोस्, हुने खाने र हुँदा खानेबीचमा समदुरीको सम्बन्ध रहोस्, अनि पो समाजवाद आउला नत्र यस्तै हो भने विकास र समृद्धिका नारा बेकाम बन्नेछन् ।
गायक पौडेलले वर्तमान समयमा बढिरहेका बलात्कारका घटनाहरु निरुत्साहित गर्न नसकेको भन्दै यदि प्रहरी प्रसाशनले सुरक्षा दिन सक्दैन भने विकल्पमा सुरक्षाको बारेमा समिक्षा गर्ने बेला आएको बताएका छन् ।