Logo

चलचित्र दिवसका बारेमा बेखबर बनेकी बोर्ड अध्यक्ष पौडेलको चौतर्फि आलोचना !



काठमाडौं । गत सोमबार अर्थात असोज १ गते चलचित्र कर्मीहरुको दिवस ‘चलचित्र दिवस’ परेको थियो । ७ वर्ष अघि देखि चलचित्र विकास बोर्डका तत्कालिन अध्यक्ष गणेश भण्डारीले ‘नेपाली चलचित्रको बदलिँदो चित्र, राष्ट्रियता, मौलिकता र समावेशी चरित्र’ भन्ने नारा सहित चलचित्र दिवसको सुरुवात गरेका थिए । देशमा हुने अन्य दिवस झै चलचित्र दिवसलाई पनि चलचित्रकर्मीले मनाउँदै आएका थिए ।

हरेक वर्ष विभिन्न कार्यक्रम गरी मनाइदै आएको चलचित्र दिवस यस वर्ष भने मनाइएन । चलचित्र विकास बोर्डले त्यसमा खासै नजर पनि लगाएन । विकास बोर्ड अध्यक्ष निकिता पौडेल नेपाल बाहिर रहेकाले पनि हुन सक्छ, बोर्डले यसमा त्यति ध्यान दिएन । अध्यक्ष पौडेल एक फिल्म अवार्डको लागी जापान पुगेकी छिन् ।

चलचित्र दिवसमा चलचित्रकर्मीलाई सम्मान तथा वर्ष समिक्षा गर्ने गरिन्थ्यो । चलचित्र क्षेत्रको स्तर उन्नतिको लागि विशेष अन्तरक्रिया पनि गर्ने गरिन्थियो । तर यस वर्ष त त्यसमा विकास बोर्डले कुनै चासो दिएको पाइएन ।

दिवस सुरु गर्ने तत्कालिन बोर्ड अध्यक्ष गणेश भण्डारी यस पटक दिवस नमनाउँदा निकै दुःखी छन् । उनी भन्छन, ‘मैले १ हजार जना कलाकर्मीलाई सडकमा र्यालीको लागि निकालेर सुरु गरेको दिवस यस वर्ष बिर्सिएछन । म यस कुराबाट निकै निराश छु ।’ चलचित्र क्षेत्रलाई केहि सहयोग होस भनेर सुरु गरेको यो दिवस विकास बोर्ड अध्यक्षले नै पहल गरेर मनाउनु पर्ने भण्डारीको तर्क छ ।

विकास बोर्ड अध्यक्ष निकिता पौडेल देश बाहिर छिन् । उनले आफु देश बाहिर भएका कारण चलचित्र दिवस याद नभएको बताइन् । उनी भन्छिन्, ‘म अहिले देश बाहिर छु । चलचित्र दिवस कहिले हो याद नै भएन ।’

अहिले विकास बोर्डको कार्यभार बोर्ड सचिवालय, प्रदर्शन तथा वितरण अधिकृत गिरिश शर्माले हेरिरहेका छन् । यस वर्ष चलचित्र दिवसमा कुनै पनि कार्यक्रम नभएको शर्माले बताए ।

‘गणेश सर र राजकुमार सरको पालामा मनाइएको थियो । यो वर्ष पनि मनाउनु पर्ने चाहिँ हो’, उनले भने, ‘अध्यक्ष ज्यु बाहिर हुनुहुन्छ त्यहि भएर मनाउन पाइएन ।’ साभार



प्रतिक्रिया दिनुहोस्