बाजुरा । जिल्लामा अन्नते मेला शुरु भएको छ । भाद्र पूर्णिमाको दिनबाट शुरु हुने अनन्ते मेलालाई स्थानीयवासीले विशेष महत्वका साथ मनाउने गर्दछन् । अनन्ते मेलामा रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी देउडा खेल्ने गरिन्छ । महाभारतमा कौरवसँगको लडाईमा पाण्डवले गरेको विजय प्राप्तिको खुशीयालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले विजय मनाउने उत्सवको रूपमा यस पर्वलाई मनाउने परम्परा छ ।
मेला अवधिभर मागल, लाखेनाच, पाण्डवको युद्ध कौशल, युद्ध नीतिका बारेमा चर्चा गरी देउडा खेल्ने चलन रहेको ज्योतिश गोविन्दराज जोशी बताउनुहुन्छ । अन्यायको अन्त्य भन्ने शब्द अपभ्रंश भएर अनन्ते शब्दको उत्पति भएको किंवदन्ती छ । स्थानीय लोक संस्कृति र पहिचानस्वरुप मनाइने अनन्ते मेला जिल्लाभर धुमधामका साथ मनाइने गरिन्छ । मेलाका माध्यमबाट देउडा सांस्कृतिको जगेर्ना हुँदै आएको छ । रासस