Logo

पप्पु कन्सट्रक्सनका मालिक रौनियारलाई पक्राउ पुर्जी जारी



काठमाडौं, ९ असोज । निर्माण कम्पनी पप्पु कन्सट्रक्सनले कमसल र गलत काम गरेको भन्दै चौतर्फी आलोचना भैरहेको बेला अन्ततः  जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी गरेको छ ।

भदौ ९ गते रौतहटको लाल बकैया नदीमा डुङ्गा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका प्रमुखलाई बोलाइएको थियो ।

सुमित सांसद समेत रहेका हरिनारायण रौनियारका छोरा हुन् । इशनाथ नगरपालिका वडानम्बर ९ बनजरजाका किशोर चनउ, गौर नगरपालिका ४ टिकुलियाका रामबाबु साह कानुको जाहेरी र प्रहरी निरीक्षक ओमप्रकाश यादवको प्रतिवेदनका आधारमा रौनियारलाई पक्राउ पुर्जी जारी गरेको हो ।

गत भदौ ९ गते गौर नपा ४ टिकुलियास्थित लालबकैया नदीमा निर्माणधीन पुलको पिलरमा डुंगा ठोकिदा दुर्घट्ना भएको थियो । २९ जना सवार डुंगा दुर्घटना हुँदा सो घटनामा ५ जनाको ज्यान नै गएको थियो ।

घट्नापछि पुल निर्माण कम्पनी पप्पु कन्सट्रक्सन दोषी रहेको भन्दै स्थानीय र पीडितहरुले ठेकेदार रौनियारलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दर्ता गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्