Logo

निजगढ विमानस्थल निर्माण गरेरै छाड्नेः मन्त्री बस्नेत



काठमाडौँ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारेका सकारात्मक चासोको सम्मान गर्दै कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल निर्माण गरेरै छाड्ने बताएका छन।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उनले विमानस्थल निर्माणबारे केहीले सकारात्मक चिन्ता जाहेर गरेको भए पनि केहीले स्थानीय स्वार्थ र राजनीतिक स्वार्थका आधारमा बहस चलाएको टिप्पणी गरेका थिए।

मन्त्री बस्नेतले भने, “न्यून वातावरणीय क्षतिमा विमानस्थल बन्नुपर्छ, यससम्बन्धी सकारात्मक चासो, चिन्ता र जिम्मेवारीबोधसहित जैविक विविधताको संरक्षणबारे उठाइएका सवाललाई सरकारले उचित सम्मान तथा सम्बोधन गर्छ ।” विकास र वातावरणलाई एकअर्काका विरोधीका रूपमा नभई पूरकका रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ रहेको थियो ।

झण्डै ४५ प्रतिशत वन क्षेत्र भएपनि काठको आयात हुनु विडम्बना भएको उल्लेख गर्दै मन्त्री बस्नेतले मुलुकलाई काठमा आत्मनिर्भर बनाई निर्याततर्फको योजना अघि बढाएको अवगत गराएका छन । उनले वनको दिगो व्यवस्थापन, ढलापडा काठको प्रभावकारी उपयोग र निजी वनबाट उत्पादित काठको ओसारपसारमा कानूनी सहजता अपनाएर काठको आयात निरुत्साहित गर्ने जानकारी गराएका थिए ।

बैठकमा वन सचिव डा विश्वनाथ ओलीले मन्त्रालय र मातहातका निकायका गतिविधि एवं योजनाका बारेमा जानकारी गराउँदै प्राकृतिक स्रोत साधनको उपयोग र संरक्षण सँगसँगै गर्ने मन्त्रालयको नीति रहेको बताएका थिए ।

समिति सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा भएको बैठकमा सांसदहरू शान्तिमाया तामाङ, सत्यनारायण शर्मा, शान्ता चौधरी, भूमी त्रिपाठी, सीतादेवी यादव, राधा ज्ञवाली, दलबहादुर रानालगायतले मन्त्रालयका कामकारवाहीका सम्बन्धमा जिज्ञासा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्