Logo

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री काठमाडौँमा



काठमाडौँ । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान नेपालको दुईदिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका छन।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सहसचिव नवराज ढकाल र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले स्वागत गरेका थिए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवको निमन्त्रणामा मन्त्री प्रधान नेपाल भ्रमणमा आएको जनाईएको छ । यसैबीच, दुबै देशका मन्त्रीहरुको नेतृत्वमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाबारे बैठक शुरु भएको छ ।

बैठकमा दुबै देशका वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालयका साथै नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनका उच्च अधिकारी सहभागी रहने जानकारी गराईएको छ।

नेपाल–भारत पेट्रोलियम पाइपलाइन विस्तारबारे छलफल

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच आज भएको भेटवार्तामा दुई देशीय पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको छ ।

कार्यवाहक प्रधानमन्त्री पोखरेलको सिंहदरबारस्थित रक्षा मन्त्रालयको कार्यालयमा भएको भेटवार्तामा नेपाल भारतबीचको मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार कार्यलाई तीव्रता दिन भारत सरकार तयार रहेको र केही प्राविधिक विषय टुङ्गो लगाएर काम अघि बढाइने मन्त्री प्रधानले अवगत गराएका छन ।

सो विषयमा दुई सरकारबीच सहसचिवस्तरीय बैठक बसी प्राविधिक विषयमा टुङ्गो लाग्नेछ । कार्यबाहक प्रधानमन्त्री पोखरेलले पाइपलाइन विस्तारका क्षेत्रमा रहेका रुख कटानका विषयमा पनि छलफल भएको जानकारी दिए ।

यसैगरी उनीहरुबीच भारत सरकारको सहयोगमा बन्ने हेटौँडा पोलिटेक्निक इन्स्टिच्युटको निर्माण चाँडो पूरा गर्ने विषयमा पनि छलफल भएको थियो । मन्त्री प्रधान आजै नेपाल आएका हुुुन ।



प्रतिक्रिया दिनुहोस्