Logo

शिक्षक मृत भेटिए



बेत्रावती । दुप्चेश्वर गाँउपालिका–३ राउतबेँसीस्थित नवज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक गणेश पण्डित शुक्रबार साँझ मृत अवस्थामा भेटिएका छन् । दुप्चेश्वर–७ अम्बोटेका ४५ वर्षीय पण्डित बिहीबार विद्यालयमा पढाउन गएर फर्कने क्रममा हराएकोमा घर नजिकै बाँसबोटे भन्ने जङ्गलमा मृत भेटिएको जिल्ला प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए ।

जङ्गल क्षेत्रमा भीरबाट लडेको जस्तो देखिए पनि उनको शरीरको विभिन्न अङ्गमा चोट लागेको, लडेको स्थानभन्दा केही परसम्म समेत रगत देखिएकाले घटनामा अपराध भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ । शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ ।

बस र ट्रक ठोक्किदा दुईको मृत्यु, ३२ घाइते

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ ।

दुर्घटनामा ३२ घाइते भएका छन् । घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना७ख ५६२९ नं को बस विपरीत दिशाबाट जाँदै गरेको ना६ख ७७१९ नं को ट्रकसँग ठोक्किँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसचालक बाँके कोहलपुर नगरपालिका–४ का २३ वर्षीय सुरज विक र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ११ को भरतपुरमा, चारको मध्यविन्दु अस्पताल डण्डा र १७ को कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा अहिले सडक अवरुद्ध भएको छ । घाइतेको विवरण आउन बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्