Logo

इण्डोनेशियामा भूकम्पपछि सुनामी



काठमाडौँ । इण्डोनेशियाको पालु नगर वरपर चार सयभन्दा बढी मानिसको ज्यान जानेगरी गएको भूकम्पपछि शक्तिशाली परकम्पहरू अहिलेपनि आउनेक्रम जारी रहेको बताईएको छ।

भूकम्प र त्यसपछि समुद्री तट क्षेत्रमा आएको सुनामीका कारण ५०० जना भन्दा बढी घाइते भएका छन्।पालु नगरमा भवनका भग्नावशेषहरूमा कयौँ मानिसहरू हराइरहेका छन्।

ज्यान गुमाएका मानिसका शवहरू सडकमा छन्। अस्पताल भवनहरूमा क्षति पुगेकोले घाइतेहरूको उपचार त्रिपालहरूमा भइरहको छ।उद्धारकर्ताहरू क्षतिग्रस्त भवनका भग्नावशेषमा च्यापिएका मानिसहरूसमक्ष पुग्न संघर्ष गरिरहेका छन्।

भूकम्पका बेला पालु विमानस्थलबाट एक उडानलाई सुरक्षित रूपमा उडाउने कार्यमा लागेका एक हवाई उडान नियन्त्रकको समेत ज्यान गएको बताइएको छ।

पालु नगर बाहिर भूकम्प र सुनामीले पुर्याएको क्षतिबारे प्रष्ट जानकारी प्राप्त भएको छैन।भूकम्पबाट बाच्न सफल मानिसहरूले शनिवारको रात आकासमुनि सुतेर बिताएका छन्।रातभर खटिएका उद्धारकर्ताहरूले भूकम्पपछि भत्किएको आठ तले होटलको भग्नावशेषबाट २४ जनालाई बाहिर निकालेका छन्।

भवनभित्रबाट बचाउनका लागि मानिसहरूले आवाज निकाले पनि उद्धारकर्ताहरूसँग खन्ने र तान्ने उपयुक्त उपकरणको अभाव छ।अधिकारीहरूले मृतकहरूको संख्या अझै बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन्।अवरुद्ध सडक र भत्किएका पुलहरूका कारण उद्धार प्रयासमा बाधा भईरहेको बताईएको छ । बीबीसी



प्रतिक्रिया दिनुहोस्