काठमाडौँ । मानवअधिकारवादी नेता कृष्ण पहाडीको नयाँ पुस्तक ‘युद्ध निषेधः शान्ति विशेष’ सार्वजनिक भएको छ । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति पहाडीका विशेष आलेखलाई पुस्तकमा समावेश गरिएको छ ।
उनले लेखेको यो २७ औँ पुस्तक हो । शान्ति समाजका १३ सदस्यको सहयोगमा पुस्तक प्रकाशन गरिएको महासचिव उत्तम पुडासैनीले जानकारी दिएका छन। ‘विखण्डनको राग अलाप्ने मुसो प्रवृत्तिलाई तह लगाउन नेपाली जनता सक्षम छन् तर त्यो मुसो प्रवृत्तिलाई काँधमा बोक्ने बाह्य बाघहरूसँग भने होसियार हुनु जरुरी छ । त्यसैले त्यो षड्यन्त्रको पर्दाफास गर्नु मैले आवश्यक ठानेँ र त्यसविरुद्ध उभिएँ । आज पनि म हिंसा, घृणा र विखण्डनविरुद्ध हुङ्कार गर्छु र त्यसका पृष्ठपोषकविरुद्ध आजीवन लडिरहने प्रण गर्छु’, पुस्तकमा पहाडीले बताएका छन।
विभिन्न शक्ति राष्ट्रको घोषित–अघोषित नेपाल नीति, सुरक्षा र सामरिक महत्वका विषयमा गत एक वर्षमा प्रकाशित पहाडीका १७ लेख सो पुस्तकमा समावेश गरिएको छ । शान्तिको पक्ष, हिंसा र युद्धको विपक्षमा समर्पित पुस्तक बिक्रीबाट प्राप्त हुने रकम शान्ति समाजको अभियान÷कार्यक्रम सञ्चालनमा खर्च गरिने जनाइएको छ ।