Logo

जितिया पावनीः परिवारिक सुख शान्तिको प्रतीक-फोटोफिचर



काठमाडौँ । निधारमा चाँदीको मन्टिका, गलामा हँसुली, पाखुरामा बाजु, नाडीमा कतृ तथा कम्मरमा डटकस पहिरिएकी रेणु चौधरी मौलिक पोशाकमा थिईन । नीलो ब्लाउज र सेतो साडीमा सजिएकी उनको खुट्टामा चाँदीका पाउजु र कारा पनि थियो । थारू महिलाको मौलिक जितिया पावनी जितिया पर्व मनाउन काठमाडौँको बानेश्वरमा भेला भएकी रेणुसँगै कल्पना चौधरीपनि उस्तै पोशाकमा रहेकी थिईन ।

एकअर्कामा शुभकामना साटेर परिवारको शुखशान्तिका लागि जितिया पर्व मनाउन आज दिउँसो यहाँ सयौँ थारू महिला सहभागी थिए । तराईका जिल्लामा मनाइने जितिया पर्व पछिल्ला दिनमा काठमाडौँमा पनि मनाउन थालिएको छ । “हाम्रो आफ्नो संस्कृति त बचाउनुप¥यो नि,” रेणुले भनिन । प्रायः विवाहित महिलाले परिवारको सुखशान्ति र समृद्धिको कामना गर्दै व्रत बसेर जितिया मनाउँछन् । नवविवाहित महिलाले जुन वर्ष शनिबार जितिया पर्छ, त्यही दिनबाट मात्रै विधिपूर्वक पर्व मनाउन शुरु गर्ने चलन छ ।

 

त्यसैले विवाह भएको वर्षौं हुँदासमेत केही महिलाले पर्व मनाउन पाएका हुँदैनन् । यसलाई उनीहरुको भाषामा सुइत साइत नलागेको भनिन्छ । पाँच वर्षअघि विवाह गरेकी ममता चौधरीलाई सुइत लागेको छैन । “रहर भए पनि जितिया मनाउन पाएको छैन, सुइतको पर्खाइमा छु्,” ममताले बताईन ।

जितिया पर्वको आफ्नै मिथक छ । बिहान भाले नबास्दै दर खाएका थारू महिलाले जितमहानको कथा सुनेर आज पानी नै नखाई व्रत बस्छन् । आफ्नो पति र सन्तानको दीर्घायुका लागि व्रत बस्ने थारू महिलाले जितमहानको पूजा गर्ने परम्परा रहेको बताउन्छीन थारू महिला समाज नेपाल, काठमाडौँ उपत्यका समितिकी अध्यक्ष गीताकुमारी चौधरी ।

संस्कृति हराउन नपाओस् भनेर आज दिदीबहिनीहरु भेला भएर काठमाडाँैमा पर्व मनाएको उनको प्रतिक्रिया रहेकोछ । सप्तमीका दिन दर खाने अर्थात् लाहा खाने चलन हुन्छ । आज अष्टमीका दिन उपवास बस्ने, जितमहानको कथा सुन्ने र गाउँका महिला जम्मा भई झमटा नाचेर पर्व मनाउँछन् ।

निराहार व्रत बसेका महिलाले जलाशयमा नुहाएर माटोको प्रतिमामा पूजा गर्दछन् । परिवार भेला भई मीठो मसिनो खाएर यो चाड मनाउने परम्परा छ । नवमीका दिन विधिपूर्वक जितिया समाप्त हुन्छ ।

हिन्दू महिलाले मनाउने तीज पर्वसँग मिल्दोजुल्दो जितिया हो । तर जितियामा विवाहित महिलाले मात्रै व्रत बसेर पर्व मनाउँछन् । तीजमा भने सबै महिला व्रत बस्छन् । तराई जिल्लामा थारू समुदायको बसोबास रहे पनि नवलपरासी पूर्व मात्रै जितिया मनाउने चलन छ ।तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्