Logo

विधेयक पारित भएपछि विकासले गति लिन्छ: मुख्यमन्त्री राउत



लहान । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले संसद्मा टेबुल गरेको विधेयकहरू पारित भएपछि प्रदेशमा विकास र निर्माणले गति लिने बताएका छन।

सिरहाको कल्याणपुर नगरपालिकास्थित चिकना बजारमा मङ्गलबार आयोजित पार्टी प्रवेश एवं शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले संसद्मा करार विधेयक, प्रहरी विधेयकलगायतका विधेयक ल्याएको जानकारी गराए ।

सङ्घीय सरकारले आवश्यक कर्मचारी नपठाउँदा विकास निर्माणको काम प्रभावकारी हुननसकेको बताउनुहुँदै उनले सङ्घीय सरकारले प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण नगरे प्रदेशले आफ्नै प्रहरी प्रशासन स्थापना गर्ने बताए ।

प्रहरी ऐनमाथि सदनमा छलफल शुरु भइसकेकाले यसै साता पारित हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले ऐन पारित भएलगत्तै प्रदेश प्रहरी गठनको औपचारिक प्रक्रिया शुरु हुने उनले उल्लेख गरे ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, पार्टीका उपमहासचिव प्रकाश अधिकारी, केन्द्रीय सदस्य एवं पूर्वसभासद डा वीरेन्द्र महतो, केन्द्रीय सदस्य अशेश्वर यादवसहितको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा नेकपा, काङ्ग्रेस र राजपालगायतका विभिन्न पार्टीबाट सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकालाई मुख्यमन्त्री राउतले फूलमाला लगाई पार्टीमा स्वागत गरेको जनाइएको छ ।

नगरप्रमुख सवार गाडीमा ढुङ्गामुढा

सिरहाको कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवान सवार गाडीमा अज्ञात समूहले हिजो साँझ ढुङ्गामुढा गरी तोडफोड गरेका छन् । नगरपालिकाको परिषद्को बैठक सकिएपछि नगरप्रमुख पासवान बाहिर जान लाग्दा उहाँ सवार ना१झ १६३९ नं को स्कारपियोमा एक समूहले ढुङ्गामुढा गरी सिसा फुटाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

ज्यान मार्ने उद्देश्यले योजनावद्ध रूपमा आफूमाथि आक्रमण गर्न खोजिएको नगरप्रमुख पासवानको भनाइ छ ।

नगरप्रमुख पासवानको गाडीमा ढुङ्गामुढा गर्ने समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले बताए । रासस



प्रतिक्रिया दिनुहोस्