Logo

दुई वर्षमा ७७ महिला तथा बालबालिका हराए



बैतडी, ३ कात्तिक । दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन् । आव २०७४÷७५ मा ३९ महिला तथा बालबालिका मध्ये २८ महिलासहित ११ बालबालिका हराएका प्रहरीको तथ्याङ्कले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार जिल्लामा दुई वर्षको तथ्याङ्क हेर्दा महिला हराउने क्रम बढ्दै गएको छ । हराउनेमध्ये केहीले भागेर अर्कै बिहे गर्ने तथा सानै उमेरमा बिहे गरेर भारततिर गएको हुनसक्ने प्रहरीले जनाएको छ। सीमा नाकामा कडाइ गरे पनि प्रभावकारी हुुन नसकेको प्रहरीको अनुमान छ ।

आव २०७३÷७४ हराएका ३८मध्ये १० महिला र ११ बालबालिका र आव २०७४÷७५ हराएका ३४ मध्ये दुई महिला र दुई बालबालिका घरपरिवारको सम्पर्कमा आएका छन् । यस्तै चालू आवमा पाँच जना हराएकामा एक बालिकामात्रै परिवारको सम्पर्कमा रहेकी छिन् ।

हराएपछि खोजबिनका लागी प्रहरीलाई खबर गरेपनि फेला परेपछि धेरैले जानकारी नगराएकाले फेला पर्नेको यकिन तथ्याङ्क नआउने प्रहरीले जनाएको छ ।

काभ्रेमा बालक बेपत्ता

काभे्रपलाञ्चोक, पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन् । सम्राट बिहान ढङ्गाुनाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले बताएका छन ।

स्थानीय प्रभातफेरी साप्ताहिकका सम्पादक रहेका मैनालीले भने, “बिहान साथी भेट्न हिँडेको छोरा टीकाको साइत भइसक्दा पनि नआउँदा खोजबिन ग¥यौँ अहिलेसम्म कतै भेटिएन ।” सम्राट नभप्रतिभा बोर्डिङ स्कूलमा कक्षा ६ मा अध्ययनरत छन् ।

जिल्ला प्रहरी कार्यालयले सम्राटको खोजीका लागि आज बिहानैदेखि प्रहरी पलिचालन गरिएको जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, “मातहतका सबै निकायमा सूचना गरी खोजतलास शुरु गरिसक्यौँ ।” रासस



प्रतिक्रिया दिनुहोस्