Logo

टीकाको आज दोस्रो दिन, टिका लगाउने क्रम जारी



काठमाडौं, ३ कात्तिक । विजया दशमी टीकाको आज दोस्रो दिन । मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम आज पनि जारी छ ।

यसअघि हिजो देश विदेशमा रहेका नेपालीले घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीकाप्रसाद अग्रजको हातबाट थापेर आशिर्वादका साथ ग्रहण गरे ।

मान्यजनले टीका लगाइदिंदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । परिवारमा टीका लगाएपछि कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउन जाने परम्परा छ ।

यो क्रम पाँच दिनसम्म अर्थात् कोजाग्रत पूर्णिमासम्मै चल्ने गर्दछ । ठूलाले सानालाई टीका लगाई आशीर्वाद दिने दसैंलाई आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको कडीको रुपमा लिने गरिन्छ ।

नेपालको पश्चिमी भेकमा भने विजया दशमीका दिनमात्र टीका लगाउने चलन छ । समयसंगै अधिकांश भेकमा पूर्णिमासम्मै टीका लगाउने चलन पनि बढेको छ ।



प्रतिक्रिया दिनुहोस्