Logo

जनस्वास्थ्य कर्णाली प्रदेश सरकारको प्राथमिकतामा



काठमाडौँ, ५ कात्तिक । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जनस्वास्थ्य प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन।

सल्यान र रुकुम पश्चिम हेर्ने गरी जिल्ला स्वास्थ्य कार्यालय सल्यानको आज उद्घाटन गर्दै मन्त्री ज्वालाले कर्णाली प्रदेशका १० जिल्लामध्ये पाँचमा रहेका जिल्ला अस्पताललाई स्तरोन्नति गर्ने कार्य यसै आर्थिक वर्षमा शुरु गरिएको जानकारी गराएका छन । “प्रदेश सरकारले सल्यानसहित पाँच जिल्लाका जिल्ला अस्पताललाई १५ श्ययाबाट ५० श्ययामा पु¥याउने गरी स्तरोन्नतिको काम शुरु गरिसकेको छ, बाँकी पाँच जिल्लामा भने स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई स्तरोन्नति गरिनेछ”, मन्त्री ज्वालाले बताए।

उनले कर्मचारी व्यवस्थापन नभएसम्मका लागि मात्रै दुई जिल्ला हेर्ने गरी कार्यालय स्थापना गरिएको बताए । सल्यान जिल्ला अस्पताललाई स्तरोन्नति गर्नका लागि चालु आवमा रु दुई करोड तथा छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि रु ५० लाख विनियोजन गरिएको मन्त्री ज्वालाले जानकारी गराएका छन ।

सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई दोहोरो नहुनेगरी स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्न मन्त्री ज्वालाले आग्रह गरेका थिए। “सबै स्थानीय तहका नागरिकले स्वास्थ्य सेवा सहज रुपमा पाउनुपर्छ, जनताले स्वास्थ्य सेवा पाउने गरी स्वास्थ्य क्षेत्रमा समन्वय गरी बजेट विनियोजन गर्न अनुरोध गर्छु”, मन्त्री ज्वालाले जनाए ।

सो अवसरमा जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले जिल्ला स्वास्थ्य कार्यालय सल्यानको म्याद असोज ३० देखि सकिएकाले अब सल्यान र रुकुम पश्चिम हेर्ने गरी नयाँ स्वास्थ्य कार्यालय स्थापना भएको जानकारी दिएका छन । रासस



प्रतिक्रिया दिनुहोस्