Logo

आज भाइटीका, उत्तम साइत मध्याह्न ११ बजेर ५५ मिनेटमा



काठमाडौं २३ कार्तिक । । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई पञ्चरङ्गी टीका लगाउने गर्छन् । दिदीबहिनीलाई पूजा गरी अखण्ड सौभाग्य, सुखद् दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद दिने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

आज भाइटीकाको साइत मध्याह्न ११ः५५ मा उत्तम रहेको पनि उनले बताए ।  त्यसअघि बारबेलाअनुसार कालबेला परेकाले कालबेला कटाएर शुभबेलाको साइत निकाल्दा साइत ढिला भएको समितिले जनाएको छ । “मध्याह्न कालमा अभिजित् नामको शुभ मुहूर्त दिइएको छ”–उनले भने ।

यस वर्ष टीका लगाइदिने दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्कनुपर्नेसमितिले जनाएको छ । अहिले चन्द्रमा उत्तरमा रहेकाले आशीर्वाद दिने मानिसको दाहिने पार्नका लागि यस्तो निर्णय गरिएको हो ।

“सप्तरङ्गी टीका भनी विभिन्न ढङ्गले प्रचार प्रसार गरिए पनि तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा भनी शास्त्रमा उल्लेख गरिएको छ”–समितिका अध्यक्ष गौतमले भन्नुभयो । आजका दिन दिदीबहिनी र दाजुभाइ नहुनेले बनाएर पनि भाइटीका लगाउनुपर्छ भन्ने शास्त्रीय मान्यता समेत छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएकाले बाहिरैबाट दर्शन गर्ने व्यवस्था मिलाइने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्