बर्दिया, २५ कात्तिक । कुनै बेला घरपरिवार र समाजले बोझको रूपमा लिँदै हेला गरी अमानवीय व्यवहार खेप्दै आएका मधुवन नपा–२ ओराली बजारका अपाङ्गता भएका दम्पती स्वरोजगार गर्दै आत्मसम्मानका साथ जिउन सफल भएका छन् । ती अपाङ्गता भएका दम्पती हुन् ३५ वर्षीय लक्ष्मण थारू र ४० वर्षीया इन्द्राणी थारू ।
उनीहरुको समय बिहान उठेदेखि साँझ अबेरसम्म खाजा घरमै काम गर्दै बित्छ । तीन छोराका आमाबाबुसमेत बनिसकेका उनीहरुले आफ्ना सन्तानको पालनपोषण, शिक्षालयायत जिम्मेवारीले पनि अपाङ्गताको बाबजुद काममा व्यस्त हुन्छन् । पसलबाट दैनिक रु एक हजारदेखि एक हजार पाँच सयसम्म कमाई हुने गरेको लक्ष्मण थारूले बताउनुभयो ।
प्राय अपाङ्गता भएका व्यक्तिहरु अरुकै सहरामा बाँच्ने र आफूमाथि हुने अमानवीय व्यवहार सहन नसकी निरस जीवन जिउन बाध्य भएको लक्ष्मणका दम्पतीले देखेका छन् । तर उनीहरु कर्मलाई जीवनको आधार मान्दै आफूले सक्ने कर्म दैनिक रूपमा आफ्नै खाजा घर पसलमा गर्दै आएका छन् । त्यसैले त कहिले पनि कसैको अगाडि हात फैलाउनु परेको छैन । स्थानीय समाजसेवी अगुवा राजबहादुर चौधरी भन्नुहुन्छ, “लक्ष्मणका दम्पती एउटा उदाहरण हुन् । अपाङ्गता भएर पनि आफूले गर्न सक्ने काम गरी आत्मनिर्भर बनेका छन् ।”
खाजा घरमा बिहान सबेरैदेखि नै चिया नास्ता खाने मानिसको भीड लागेको हुन्छ । दिउँसो पनि ग्राहकको आउने जानेको कमी हुँदैन । लक्ष्मण थारूको बाँया खुट्टा सुकेर हिँड्न समस्या छ । उनी जन्मदा सामान्य मानिससरह सबै ठिकै थियो । तर पछि उमेर बढ्दै जाँदा अचानक बिरामी परेपछि उपचारपछि निको त भए तर बाँया खुट्टा सुक्दै गयो । धेरै उपचार गराए पनि पहिलेजस्तो भएन । बुबाआमाको रेखदेखमा हुर्कदै ५ कक्षासम्मको पढाइ सके ।
सधैं उनको लागि समय एकनासको रहेन । दाजुभाइ घरबाट अलग भएपछि भने समस्या हुन थाल्यो, पढाइ छुट्यो । सोही बेला बुबाले चिया नास्ता र मिठाइ पसल गर्दै आउनुभएको थियो । त्यतिबेलासम्म जीवनका बारेमा केही सोचेका पनि थिएनन् उनले ।
तर बृद्ध बुवाले छोरा पसलमा चिया, नास्ता, मिठाइ बनाउन सिक जीवन जीउन सहयोग पुग्छ भनेपछि सिक्न थालेका उनलाई सोही सीपले अहिले गरी खान सहयोग पुगेको छ । त्यसैमा सहयोगी पाएका छन् श्रीमती इन्द्राणी थारूलाई । इन्द्राणी पनि शारीरिक अपाङ्ग छिन् । उनी पनि सानो छँदा सबै ठीकै थियो । करीब १२ वर्ष पुगेपछि बिरामी परिन् । धेरै उपचार गरेपनि ठिक भएन । उल्टो मेरुदण्डमा समस्या आई ढाड कुप्रो पर्दै गयो र उनी अपाङ्ग हुनुप¥यो । उनीलाई पनि परिवारले बोझको रूपमा व्यवहार गर्न थाल्यो ।
लक्ष्मण र इन्द्राणीले अपाङ्ग भएपछि परिवार र समाजले गर्ने नकारात्मक व्यवहारको तीतो अनुभव भोग्नुभएको छ । यही भोगाइको बीचमा उहाँहरुले अर्काको पीडासँग सहयात्री बन्न १७ वर्ष अगाडि विवाह गर्नुभयो र शुरु भयो लक्ष्मणकै बुबाले चलाउँदै आएको नास्ता पसलमा सङ्घर्षपूर्ण दैनिकी ।
ओराली बजारमा २० वर्षदेखि लवकुश खाजा घर घरेलु तथा साना उद्योग र आन्तरिक र राजश्व कार्यालयमा दर्ता गरेर चलाउँदै आएका छन् । इन्द्राणी भन्नुहुन्छ, “सम्पत्ति जोड्न त सकिएको छैन, पाँच जनाको परिवारलाई खानलाउन पुगेको छ । तीनवटै छोरालाई स्कूल पढाउन सकेका छौँ ।” रासस