Logo

‘ठग्स अफ हिन्दोस्तान’ को कमाई दयनिय बन्दै



काठमाडौं । अमिताभ बच्चन, आमिर खान, कटरीना कैफ लगायतका ठूला स्टारबाट सजिएको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को हालत बक्सअफिसमा दयनिय बन्दै गएको छ । फिल्मले पहिलो दिन जबरजस्त कलेक्सन गरेको थियो । तर, विकेन्ड अन्त्यसँगै फिल्मको कलेक्सनमा ठूलो गिरावट आएको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मकोे कमाईको ताजा आँकडा सार्वजनिक गरेका छन् । पहिलोे दिन ५० करोड ७५ लाख, दोस्रो दिन २८ करोड २५ लाख, तेस्रो दिन २२ करोड ७५, चौथो दिन १७ करोड २५ लाख र पाँचौ दिन फिल्मले जम्मा ५ करोड ५० लाख कमाएको छ ।

फिल्मको कुल कमाई १२४ करोड ५० लाख भारु भएको छ । अन्य भाषाको कमाई जोड्ने हो भने फिल्मले तमिल र तेलुगुमा ४ करोड ५० लाख हात पारेको छ । यो हिसाबले फिल्मले भारतीय बजारबाट कुल १२९ करोड कमाएको छ । फिल्मको लाइफटाइम कलेक्सन १ सय ५० करोडमा सीमित हुने प्रक्षेपण छ ।

कमजोर ुवर्ड अफ माउथु का कारण फिल्मको कलेक्सनमा लगातार गिरावट आएको हो । भव्य सेट, चलेका कलाकार भए पनि फिल्म खोक्रो रहेको दर्शक र समीक्षकको भनाई छ । २ सय करोडमा निर्माण भएको ‘ठग्स अफ हिन्दोस्तान’ ले घरेलु बजारबाट निर्माताको आधा लगानी उठाउन नसकेपनि ओभरअल कमाईले सुरक्षित भने हुनेछ ।

यो फिल्मको डिजिटल राइट्स मात्र १ सय ८० करोडमा बिक्री भएको छ । भारतमा मात्र फिल्म ५ हजार स्क्रिनमा रिलिज भएको थियो । फिल्मको निर्देशन विजय कृष्ण आचार्यले गरेका हुन् । यो फिल्म फिलिप टेलर्सको उपन्यास ‘कन्फेशन अफ ठग्स’ मा आधारित छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्