Logo

बाँकेमा जडीबुटी खेती



बाँके । जिल्लामा एक सय १२ हेक्टर जमीनमा जडीबुटी खेती गरिएको छ । किसानले ९३ हेक्टरमा मेन्था र १२ हेक्टरमा केमोमाइल खेती गरेका छन् । गत आर्थिक वर्षदेखि यहाँ कुरिलो खेतीको शुरुआत गरिएको छ ।

राप्तीसोनारी गाउँपालिकाको तीन सामुदायिक वनमा कुरिलो खेती शुरु गरिएको नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताउनुभयो । राप्ती सोनारीको जलजला, बसेरी र छग्रह्वा सामुदायिक बनमा कुरिलो खेती गर्न थालिएको हो । यसबाट आम्दानी लिन कम्तीमा तीन वर्ष लाग्नेछ । गत आवमा जिल्लामा सात हजार लिटर मेन्था तेल र ७१ लिटर केमोमाइल तेल उत्पादन भएको थियो ।

कृषि क्षेत्रको विकासका लागि अनुदान र सस्तो ब्याजदरमा ऋण प्रदान गरेजस्तै जडीबुटी खेतीको प्रवद्र्धन गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने जडीबुटी व्यवसायीको माग छ ।

सरकारी नीति फितलो हुँदा जडीबुटी खेती फस्टाउन नसकेको अध्यक्ष अन्सारीले बताउनुभयो । “जडीबुटी खेती गर्ने किसानलाई सरकारले प्राथमिकताको सूचीमा राख्नुप¥यो”, उहाँले भन्नुभयो । जडीबुटी व्यवसाय प्रवद्र्धन गर्न राज्यको लगानी शून्य रहेको उहाँको आरोप छ ।

किसानको व्यक्तिगत लगानीमा मात्र बजारीकरण सम्भव नभएको अन्सारीले बताउनुभयो । “बजारीकरण र भण्डारणका लागि राज्यको तर्फबाट पहल हुनु पर्छ,” उहाँले भन्नुभयो । जिल्लामा कुरिलो र केमोमाइलको खेतीबारे जिल्ला वन कार्यालयसँग तथ्याङ्क छैन ।

सहायक वन अधिकृत टेक नेपाली निजी जमीनमा केमोमाइल खेती भइरहेको बताउनुहुन्छ । केमोमाइल र कुरिलो निकासी गर्दा र बिक्री वितरण गर्दा वन कार्यालयसँग अनुमति लिनुपर्ने प्रावधान छ । रासस



प्रतिक्रिया दिनुहोस्