Logo

खुमल-१० रोप्न चाहँदैनन् किसान



ललितपुर । रोग कम लाग्ने र चाँडो पाक्ने भए पनि नेपाल कृषि अनुसन्धान परिषद् नार्कले किसानलाई खुमल-१० रोप्नेबारे विश्वस्त पार्न सकेको छैन ।

नार्कले केही वर्षयता किसानलाई खुमल-१० सिफारिश गरिरहे पनि किसानले भने खुमल–४ नै लगाउने गरेका छन् । खुमल-४ को उत्पादन क्षमता बढी भएकाले किसान त्यसप्रति आकर्षित भएको बाली विज्ञान महाशाखामा कार्यरत वैज्ञानिक राजेन्द्र भट्टराईले बताउनुभयो ।

खुमल–४ लाई रोगले आक्रमण बढी गरेका कारण केही वर्ष अघि नार्कले खुमल-१० को विकास गरेको हो । किसान भने अझै पनि खुमल–४ नै रोज्ने गरेका छन् । उहाँले भन्नुभयो, “किसानले रोग लागे पनि धेरै उत्पादन दिने जात नै रुचाउँछन् ।”

खुमल–४ ले प्रतिहेक्टर झण्डै ६ टन उत्पादन दिन्छ भने खुमल-१० ले प्रतिहेक्टर पाँच टन मात्र उत्पादन दिन्छ । किसानले धानमा रोग प्रतिरोधात्मक क्षमता, उत्पादन, स्वाद, नढल्नेलगायतका गुण हेर्ने गरेको भट्टराईले बताउनुभयो ।

“अवगुण भए पनि किसानले उत्पादन क्षमता बढी भएका जात नै रुचाउने गरेका छन्,” भट्टराईले भन्नुभयो । एउटा जातको धानको बीउ लामो समयसम्म लगाउँदा त्यसमा भएका गुण विस्तारै हराएर जाने उहाँले बताउनुभयो ।

विसं २०४४ मा नार्कबाट सिफारिश भएको खुमल–४ मा विभिन्न समस्या देखिन थालेपछि खुमल-१० सिफारिश भएको हो । उहाँले भन्नुभयो, “खुमल–४ जस्तै उत्पादन दिनसक्ने नयाँ जात अहिले आवश्यक देखिएको छ ।”

नार्कअन्तर्गतको बाली वनस्पति महाशाखाले नयाँनयाँ धानको बीउका जात सिफारिश गर्दै आएको छ । बाली विज्ञान महाशाखाले भने सिफारिश भएका जातको परिमाण बढाएर विभिन्न माध्यमले किसानलाई बीउ उपलब्ध गराउँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्