Logo

सहकारीबाट सक्षम बन्दै महिला



घोराही । कुनै समय सहकारीमा आबद्ध भएर दैनिक रु २० बचत शुरु गरेका महिलासँग अहिले करीब रु दुई करोडको पूँजी छ भन्दा पत्याउन मुश्किल पर्ला तर घोराही–१८ गिठेपानीमा रहेको एकता महिला विकास बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था अहिले आर्थिकरूपमा सम्पन्न भइसकेको छ ।

सहकारीले ठूलो मात्रामा आर्थिक कारोबार गरिरहेको छ । विसं २०५४ र ५५ मा रुखमुनि बसेर शुरु गरिएको बचत सहकारीसँग अहिले आफ्नै तीन पक्की घरका साथै बेसार उद्योग पनि छ । शुरुमा न्यूनतम रु २० जम्मा गर्न नसक्ने महिला अहिले मासिक ५०० देखि दुई हजारसम्म नियमित बचत गर्ने भइसकेका छन् ।

गाउँका ६० महिलालाई जम्मा पारेर शुरु गरिएको सहकारीमा अहिले करीब ५०० को हाराहारीमा सदस्य पुगेको सरकारी संस्थाकी अध्यक्ष यशोदा पाण्डे बताउनुहुन्छ । आफूहरुले सहकारीमा जम्मा गरेको पूँजी कृषि, पशुपालन, व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्यमा लगानी गरिरहेको उहाँको भनाइ छ ।

सहकारीमा आबद्ध महिलाको पहिले र अहिलेको स्थितिबारे जानकारी गराउँदै अध्यक्ष पाण्डे भन्नुहुन्छ, “शुरुमा बचत गर्न सिकाउन महिला विकासबाट कर्मचारी आउँदा हामी ढोका थुनेर लुक्थ्यौँ तर अहिले हरेक ठाउँमा पुगेर आफ्नो प्रष्ट विचार राख्ने भइसकेका छौं ।”

सहकारीले महिलाको आर्थिक पाटो मात्र नभई सीप, क्षमता र चेतना विस्तार पनि गरेको उहाँको भनाइ छ । घोराहीको विकट क्षेत्र मानिने वडा नं १८ का करीब २०० महिला सहकारीले बेसार उद्योग पनि सञ्चालन गरेको छ । बेसार रोप्नेदेखि बजारमा पु¥याउनेसम्म सहकारीमा आबद्ध महिला आफैंले गरिरहेको छन् । यहाँबाट उत्पादन हुने बेसार अहिले दाङ, पोखरा, काठमाडाँैको बजारमा पनि पुगिरहेको छ । बेसार कर्मचारी, चिकित्सक, ठूला होटलमा माग हुने गरेको उक्त सहकारीले जनाएको छ ।

शुरुमा ४८ महिलाले रु १०० को शेयर र रु २५ बचत गरेर शुरुआत गरेका अर्को सौभाग्य महिला बचत तथा ऋण सहकारी संस्थासँग अहिले रु ७५ लाख रकम जम्मा भइसकेको छ । उक्त सहकारीकी अध्यक्ष हुमा डिसीका अनुसार अहिले सहकारीमा रु २२ लाख त शेयर मात्रै पुगेको छ । सहकारी संस्थाले मासिक, दैनिक, ऐच्छिक र बालबचत पनि सञ्चालन गरिरहेको छ ।

अध्यक्ष डिसीका अनुसार बचत मात्र होइन, सहकारीले महिलाका आयआर्जनमा लगानी पनि गरेको छ । महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले गरिएको लगानीबाट सहकारीमा आबद्ध महिला प्राय आत्मनिर्भर बनिसकेका छन् । “हाम्रो सहकारीबाट ऋण लिएर व्यवसाय शुरु गरेका महिला अहिले सक्षम भइसकेका छन् ।” अध्यक्ष डिसी भन्नुुहन्छ, “तरकारीखेती, पशुपालन र व्यापार गर्ने महिला धेरै छन् ।

सडकमा व्यापार गरेर बस्नेहरु अहिले सटरमा आइसकेका छन् ।” सहकारीकै लगानीमा व्यवसाय शुरु गरेका कतिपय महिलासँग अहिले आफ्नै गाडीसमेत रहेको उहाँको भनाइ छ । सहकारी संस्थाले गरेका राम्रो गतिविधिको आधारमा अहिले सहकारीलाई सरकारी निकायले विश्वास गरेर सेवा केन्द्र सञ्चालन गर्न दिएको छ ।

घोराही १० नारायणपुरमा रहेको सर्वेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था पनि एउटा सक्षम महिला सहकारीको रूपमा चिनिन्छ । उक्तसहकारीमा अहिले करीब रु ५५ लाख रकम जम्मा भइसकेको छ भने रु ६० लाख बराबरको भौतिक सम्पत्ति सहकारीले आफ्नो नाममा जोडिसकेको छ ।

सहकारी संस्थाले गाउँका करीब ६५० महिलालाई सहकारीमा आबद्ध गरेको छ । सहकारीकी अध्यक्ष मञ्जु न्यौपानेका अनुसार सहकारीको लगानीबाट अहिले त्यहाँका धेरै महिला बाख्रापालन, च्याउ उत्पादन, सिलाइकटाइ र अन्य व्यापार व्यवसाय गर्ने भइसकेका छन् ।

सहकारी संस्थाले हिंसामा परेकालाई आश्रय दिने उद्देश्यले महिला विकासको सहयोगमा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । त्यस्तै महिलाका लागि चेतनामूलक कार्यक्रम, सीपमूलक र क्षमता अभिवृद्धिका कार्यक्रम आफूले सञ्चालन गरिरहेको अध्यक्ष केसीको भनाइ छ । अब सहकारीको कारोबारलाई कम्प्युटर प्रणालीमा लैजाने तयारी गरिरहेको उहाँ सुनाउनुहुन्छ ।

जिल्लाको घोराही क्षेत्रमा मात्रै अहिले ११ महिला सहकारीले सयौँ महिलालाई एकताबद्ध गरेर लाखाँैको कारोबार गरिरहेको घोराही उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास अधिकृत मोती विश्वकर्मा उल्लेख गर्नुहुन्छ ।

घोराहीकै सैघा, सौडियार, लक्ष्मीपुर, रामपुर, धर्नालगायत स्थानमा रहेका महिला सहकारी संस्थाले आयआर्जन, सीपमूलक र चेतनामूलकजस्ता काममा अग्रसर रहेको उहाँको भनाइ छ । “महिला सहकारीले गरेको सफलताको कारण अहिले धेरै महिला पैसाको कारोबारमा अगाडि छन् भने आयआर्जनका गतिविधि पनि धैरै छन्”, अधिकृत विश्वकर्मा बताउनुहुन्छ, “सहकारीले महिलालाई सक्षम बनाएको छ ।”

सहकारीमा आबद्ध भए पनि महिलाको जीवनशैलीमा नै परिवर्तन आउनाका साथै महिला एकताबद्ध हुँदा समाजमा सामाजिक, आर्थिक र राजनीतिक रूपमा सकारात्मक परिवर्तन पनि बढ्न थालेको पाइन्छ । रासस



प्रतिक्रिया दिनुहोस्