काठमाडौँ, २ मङ्सिर / प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेका मन्त्रालयको काम कारवाही, नियमित अनुगमन र निर्देशन गर्नेबारे प्रारम्भिक प्रतिवेदन तयार गर्न तीन वटा विषयगत उपसमिति गठन गरेको छ ।
समितिको आजको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकूद उपसमिति गठन गरेको सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो । बैठकमा राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी विधेयकलाई आगामी संसद्को अधिवेशनका लागि प्राथमिकताको पहिलो कार्यसूचीका रुपमा अघि बढाइने जानकारी दिइयो ।
सांसद भैरवबहादुर सिंह संयोजक रहनुभएको उपसमितिले यही मङ्सिर ८ गतेदेखि उक्त विधेयकमाथि निरन्तर छलफल गरी सहमतिका आधारमा प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ ।
राज्यको शिक्षा, स्वास्थ्य र खेलकूद नीतिलाई समयानुकूल बनाउँदै लैजान समितिले द्रुतरुपमा काम गर्ने अठोट व्यक्त गर्दै समितिका सदस्यले भन्नुभयो, “बिरामी मानिसको उपचार र कर्मचारीको सरुवा बढुवा पहुँचका आधारमा होइन, प्राथमिकता र नीतिका आधारमा हुनुपर्दछ ।”
बैठकमा सदस्यले शिक्षा, स्वास्थ्य र खेलकूदसम्बन्धी नीति पटकपटक फेरिने परिस्थितिले जनता र स्वयं सरकार नै पनि खुशी नदेखिएको हुँदा सरकारी र निजी साझेदारी ढाँचामा अघि बढ्नुपर्ने सुझाव दिनुभयो । (रासस)