बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटका अभिभावकलाई असल अभिभावकको प्रमाणपत्र वितरण गरिएको छ ।सो वडाको दलित, आदिवासी जनजाति, अशक्त बालबालिकाका अभिभावक गरी ४४ अभिभावकलाई बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, बालश्रम र उनीहरुमाथि गरिएको व्यवहारबाट भविश्यमा आउने परिवर्तनको विषयमा सचेत गराउने उद्देश्यले सो तालीमको आयोजना गरेको जनाइएको छ ।
तालीम समापन कार्यक्रममा नगरपालिकाका प्रमुख टङ्कप्रसाद तिमल्सिनाले चेतनाको विकास नगरको पहिलो प्राथमिकताको विषय भएको बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले बालबालिकामाथि गर्नुपर्ने सकारात्मक व्यवहार, राज्यद्वारा प्राप्त सामाजिक सुरक्षा र पोषणभत्ताको उचित उपयोगलगायतको विषयमा अभिभावकलाई जानकारीमूलक सन्देश प्रवाह गर्न तालीमको आयोजना गरिएको बताउनुभयो ।
हप्ताको एक दिन कक्षा लिने बाँकी दिन प्रयोगात्मक गरी १४ हप्तासम्म तालीम सञ्चालन भएको थियो । तालीममा सहभागी सरिता सुन्दास र कनक दर्जीले तालीम लिएपछि प्रयोग गरिएको व्यवहारबाट छोराछोरीको व्यवहारमा पनि सुधार पाएको बताउनुभयो ।
नाङशास एशोसिएशन नेपालको आयोजना र सेभ द चिल्ड्रेनको सहयोगमा भएको तालीम नमूनाका रूपमा सो वडामा पहिलोपटक शुरु गरेको एशोसिएशनका कार्यकारी निर्देशक गुणराज मुक्तानले बताउनुभयो । रासस