Logo

कुनै बहाना नगरी राष्ट्र सेवामा समर्पित हुन कर्मचारीलाई निर्देशन



काठमाडौँ,३ मङ्सिर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीले देशको परिस्थितिअनुसार आफूलाई परिवर्तन गर्दै लानुपर्ने बताएका छन ।

ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले ‘नवनियुक्त शाखा अधिकृतहरुको सेवा प्रवेश प्रशिक्षण’ कार्यक्रममा उनले नवनियुक्त अधिकृतलाई मुलुक निर्माणमा सहभागि हुन आग्रह गरे । ‘‘राष्ट्रसेवक कर्मचारीले पहिला राष्ट्रलाई चिन्नुपर्छ’’, उनले भने, “आफ्नो स्वार्थभन्दा माथि उठेर मुलुकको हितको लागि काम गर्नुपर्दछ ।” अधिकृतलाई जिम्मेवारीबाट पछि नहटी राष्ट्रप्रतिको समर्पण भावना, जनमुखी तथा सरल सेवाप्रतिको दृढता कायम राख्दै असल परिचालक बन्न समेत उनले आग्रह गरेका छन।

कुनै बहाना नगरी राष्ट्र सेवामा समर्पित हुन सबै नवनियुक्त अधिकृतलाई उनले निर्देशन दिए । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले नवनियुक्त अधिकृतले प्रशिक्षणबाट सिकेका ज्ञान तथा सीपबाट जनतालाई छिटोछरितो र चुस्तसेवा प्रवाह गर्नुपर्ने जनाए ।

प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले प्रतिष्ठानबाट सिकेका कुरालाई आत्मसाथ गदै कार्यसम्पादनका लागि तयार रहनुपर्ने बताए । आयोगबाट सिफारिस भएका सामान्य प्रशासन समूह, लेखा समूह, लेखा परीक्षण समूह , राजश्व समूह, न्याय सेवा समूह र परराष्ट्र समूहका ३६५ जना नवनियुक्त अधिकृतलाई तीन महिने प्रशिक्षण दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्