Logo

बारुणयन्त्रको व्यवस्था गर्न स्थानीयको माग



काठमाडौँ,६ मङ्सिर । मोरङको उर्लाबारी नगरपालिका–७ का भक्तिराम अधिकारीको घरमा मङ्गलबार दिउँसो १ः३० बजेतिर आगलागी भयो ।विद्युत् चुहावट हुँदा अधिकारीको घर र अधिकारीले सञ्चालन गरेको पसलमा एकैसाथ आगो सल्किएको थियो ।

आगलागीको समयमा अधिकारी परिवार घरमा थिएनन् । अधिकारीको घर र पसलबाट एकैसाथ भीषण अगालागी भएपछि त्यसलाई नियन्त्रणमा लिन लागिपरे पनि स्थानीयवासीले सकेनन् ।

आगोले अधिकारीको घर र पसल आधा जति नष्ट भएपछि बल्लबल्ल छिमेकी झापाको दमक नगरपालिकाबाट दुई बारुणयन्त्र आए । तर आगलागी भएको आधा घण्टापछि आएका ती बारुणयन्त्रले अधिकारीको घर र पसलको आगो त नियन्त्रणमा लिन सकेन तर नगरका अन्य घर र पसलमा हुने क्षतिलाई भने जोगाउन सक्यो ।

आगलागीलाई नियन्त्रणमा लिन पूर्वका इटहरी, सुन्दरहरैँचा, गौरादह, विर्तामोड र धरानबाट आएका बारुणयन्त्रले सहयोग गरेका थिए । आगलागी नियन्त्रणमा छिमेकी नगरपालिका र आफूभन्दा कान्छो झापाको गौरादह नगरपालिकामा समेत बारुणयन्त्र हुँदा आफूहरुको उर्लाबारी नगरपालिकामा नभएको भन्दै स्थानीयवासीले रोष प्रकट गरिरहेका थिए ।

उर्लाबारीमै बारुणयन्त्र भएको भए अधिकारीको घर र पसललाई छिट्टै नियन्त्रणमा लिन सकिन्थ्यो उर्लाबारी–४ का राजेन्द्र पौडेलले भने, “हेर्दाहेर्दै अधिकारीको घर र पसल नष्ट भयो ।” मङ्गलबार अधिकारीको घर र पसलमा भीषण आगलागी भएपछि यहाँ बारुणयन्त्रको तत्काल आवश्यक रहेको आवाज तीव्ररुपमा उठेको छ ।

नगरका स्थानीयवासीले तत्काल बारुणयन्त्र आवश्यक रहेको भन्दै सामाजिक सञ्जालमा आवाज पोखेका छन् । अधिकारीको घर र पसल पूर्णरुपमा जलेर नष्ट हुँदा रु एक करोड ११ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी बताए ।
उर्लाबारीमा बारुणयन्त्र नहुँदा यसअघि गत साउन १ गते उर्लाबारी–६ स्थित नारायण शाहको कस्मेटिक पसलमा भएको आगलागीबाट रु ५० लाख बराबरको क्षति भयो । नगरमा बारुणयन्त्र नहुँदा छिमेकी नगरपालिका र उपमहानगरपालिकाबाट बोलाउँदा ढिलो भएर आगोले नष्ट हुने गरेको उर्लाबारी–४ का टीका भट्टराई बताउन्छन । उर्लाबारीमा बारुणयन्त्र खरीद गर्न अब नगर कार्यपालिकाले चासो देखाउनुपर्ने वडा नं ७ का सदस्य निरोज तिम्सिनाले जनाए ।

उर्लाबारी नगरपालिकाले बारुणयन्त्र ल्याउने कुनै योजना नै नबनाएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो एउटा स्थानीय तहमा एउटा दमकल अनिवार्य हुनुपर्ने माग राखेका छन।

उर्लाबारीमा मात्र होइन रतुवामाई, पथरीशनिश्चरे, सुनवर्षी, बेलबारी, मिक्लाजुङलगायतका स्थानीय तहमा पनि आगो लाग्दा तत्काल निभाउनका लागि एउटा पनि दमकल नहुँदा समस्या भएको छ । नगर प्रमुख फागोले आवश्यक संरचना र पूर्वाधारबिनानै स्थानीय तह निर्माण गरिएका कारण पनि यस्तो समस्या आएको बताए ।रासस



प्रतिक्रिया दिनुहोस्