Logo

गृहमन्त्री थापा र अमेरिकी राजदूतबीच भेटवार्ता



काठमाडौँ, ७ मंसिर । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरीले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको राजदूतको रुपमा कार्यभार सम्हालेकोमा राजदूत बेरीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गर्दै कार्यकाल सफलताको शुभकामना दिए ।

उनले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालिम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गरे ।

भेटमा राजदूत बेरीले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप मजबुत बनाउन आफ्नो कार्यकालमा सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले मानव तस्करी नियन्त्रण, भुटानी शरणार्थी, तिब्बती शरणार्थीको व्यवस्थापन लगायतका विषयमा चासो राख्नुका साथै नेपाल आउने अमेरिकी पर्यटकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्ने विषय उठाएका थिए ।



प्रतिक्रिया दिनुहोस्