Logo

मन्त्रीलाई गुहार्दा पनि पार लागेन



काठमाडौं ११ मंसिर । सोल्टीमोडको वैदेशिक रोजगार कार्यालयमा सरोजा महतराको काम बनेन । कार्यालयले वैदेशिक रोजगार विभागमा जानु भन्यो । त्यसपछि उनी हतारिँदै ट्याक्सी चढिन् । कालिमाटी, टेकु हुँदै विभागको कार्यालय बुद्धनगरतर्फ ट्याक्सी हुँइकियो । उनी पटकपटक घडी हेर्थिन् । अनि पटकपटक कालो सलले आँशु पुछ्थिन् ।

चार वर्षदेखि दुबईमा काम गर्दै आएकी इलामकी सरोजा १५ दिनअघि घर आएकी थिइन् । उनी नेपाल बस्दाबस्दै वैदेशिक रोजगार विभागले नयाँ नियम जारी गर्‍यो ।

कात्तिक २७ गते विभागद्धारा जारी सुचनामा भनिएको छ, ‘…वैदेशिक रोजगारमा पठाउँदा सम्बन्धित नेपाली नियोगबाट प्रमाणित भई आएपछि मात्र वैदेशिक रोजगार ऐन २०६४’ बमोजिम श्रम स्विकृति प्रदान गरिने भएको हुँदा सोहीबमोजिम कागजात पेश गर्नु÷गराउनु हुन सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

विभागको नयाँ नियम थाहा पाउने वित्तिकै सरोजा आत्तिँदै श्रम कार्यालय पुगिन् । आइतबार राती साढे ११ बजे उनको फ्लाइट थियो । तर, लाइन देखेपछि सातो गयो । एकहप्तामा पनि काम नबन्ने देखेपछि उनको होस हवास उड्यो । त्यसपछि सुरु भयो उनको तनाव ।

विभागको कार्यालय अगाडि रोकियो, ट्याक्सी । त्यहाँ पुग्दा अपरान्ह्रको १२ः १५ बजेको थियो । फाराम लिएर निर्देशकको कोठा खोज्दै तेस्रो तला उक्लिइन् । ढोकामै भेटिएकी एक महिला कर्मचारीलाई हतारहतार समस्या पोखिन् । विभागबाट काम नहुने संकेत पाउने बित्तिकै सरोजाको आँखा भरियो । महिला कर्मचारीले उनलाई निर्देशकलाई भेट्न सुझाव दिइन् । हतासिँदै सरोजा निर्देशक भोलानाथ गुरागाईंको कोठातिर लम्किइन् ।

भित्र मिटिङको सुरसार थियो । सरोजाले फटाफट आफ्नो समस्या पोखिन् । ‘तपाइको जस्तो समस्या लिएर आउनेहरु धेरै छन्,’ निर्देशक गुरागाईंले सहानुभूति देखाउँदै भने, ‘यही विषयमा हामी छलफल गर्न लागेका छौं ।’

‘लौन सर आजै दुबई उडिनँ भने कम्पनीले काममा आउनु पर्दैन भनेको छ । मेरो जागिर नै जान्छ’, सरोजाले आँसु झार्दै भनिन् । निर्देशक गुरागाईं मिटिङका लागि तल्लो कोठातिर लागे।

विभागमा काम नबन्ने सम्भावना बढ्दै थियो । सरोजा पटकपटक घडी हेर्दै छटपटाउँथिइन् ।

दिउँसो डेढ बजे । हतास, छटपटी र चिन्तामा थिइन् उनी । उनले अन्तिम विकल्प रोजिन् । धेरैतिर फोन घुमाएर श्रममन्त्री गोकर्ण विष्टको नम्बर पत्ता लगाइन् । मन्त्रीसँग सिधै कुरा गरिन्। अन्नपूर्णपोष्टबाट

सरोजाः सर, मेरो आज राति साँडे ११ बजे दुबईका लागि फ्लाइट छ । श्रम स्वीकृति पाइनँ ।

श्रममन्त्री: तपाईंको बारेमा ताहाचल कार्यालयमा खबर गरेर एक छिनमा फोन गर्छु ।

(मन्त्रीको फोन आउँदैन । सरोजा आफैले ५ मिनेटपछि फोन गरिन् ।)

श्रममन्त्री: उता फोन लागेन । ५ मिनेटपछि कल गर्छु ।

(तेस्रो पटक मन्त्री आफैले फोन गर्छन्)

श्रममन्त्री: तपाईंको कम्पनी परिवर्तन भएको रहेछ । प्रकाशित सूचनामाथि छलफल हुँदैछ । एक हप्ताको लागि फ्लाइट ‘डिले’ गर्नुस् ।

सरोजा: आज राती ११ः३० को फ्लाइट छ । कम्पनीले भोली आउने भए कहिल्यै नआइज भनिसक्यो । त्यसैले साह्रै अप्ठ्यारो परेर तपाइलाई कल गरेको ।

श्रममन्त्री– तपाई श्रम स्विकृति कार्यालय जानुस्, त्यहीँबाट काम हुन्छ ।

विभागको केही क्षण अघि चलेको मिटिङ सकियो । निर्देशक गुरागाइँले सरोजालाई मन्त्रालयमै जान सुझाए । सरोजा ट्याक्सी चढेर फेरि हतार हतार मन्त्रालयतिर लागिन् ।

दिउसो पौने तिन बजे । सिंहदरबारस्थित श्रम तथा रोजगार मन्त्रालयको दोस्रो तला । मन्त्रीको कार्यकक्ष पुग्दा मन्त्री थिएनन् । विभागका महानिर्देशक दिलीपकुमार चापागाई पनि मन्त्री कुरिरहेका थिए ।

सरोजाले महानिर्देशक चापागाईसँग समस्या राखिन् । उनले भने, ‘हामी छलफल गर्दैछौं । तत्काल यो विषयमा केही भन्न सक्ने अवस्था छैन ।’ महानिर्देशकले फेरि श्रम कार्यालय नै जान सुझाव दिए । उनले भने, ‘मैले कुरा गरिदिएको छु । त्यहीँ जानू ।’

सार्वनजिक यातायात चढेर सरोजा फेरि सोल्टीमोडस्थित वैदेशिक रोजगार कार्यालय पुगिन् । त्यसबेला ४ः३० बजिसकेको थियो । उनी निकै निरास भइसकेकी थिइन् । महानिर्देशक चापागाईंको सल्लाहबमोजिम उनी कार्यालयका कर्मचारी तिर्थ कट्टेललाई भेट्न पुगिन् । तर कट्टेलले असम्भव हुने बताए । उनले भने, ‘तपाईंलाई सहयोग गरेर फस्नु छैन ।’

सरोजाले फेरि आँशु झारिन् ।

साँझको ४ः५० बजिसकेको थियो । कार्यालयको चक्कर काट्न थालेको करिब ७ घन्टा बितिसकेको थियो । उनी कार्यालय परिसरमा भेटिएका प्रत्येक कर्मचारीलाई समस्या पोख्थिन् । अनि निरास हुन्थिन् । कतै फोन गर्थिन्, अनि आँखा पुछ्थिइन् ।



प्रतिक्रिया दिनुहोस्