काठमाडौँ,१३ मंसिर । जन्मगाउँका बालबालिका बर्खाका भिज्दै, हिउँदको चिसोमा कठ्याङ्ग्रिदै बाल विकास भवनमा पढेर बसेकोे देखेपछि बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका खर्कबहादुर पुन काउँचाको मन अमिलो भयो ।
खेल्दै सिक्ने उमेरका बालबालिका भौतिक संरचनाको अभावमा सामुदायिक वन नजिकैको छेउमा रहेको एउटा कच्ची कोठामा अध्ययन गर्दै गरेको देखेपछि खर्क बहादुरलाई बालबालिका शारिरीक र मानसिक रूपमा समेत असुरक्षित भएको महसुस भयो।
ब्रिटिश गोर्खा इञ्जिनीयरका भूतपूर्व सैनिकसमेत रहेका ६३ वर्षीय खर्कबहादुरले बालबालिकाका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्ने अठोट लिए ।
परिवारसहित हङकङ बस्दै आएका खर्कबहादुरले रु ३३ लाख लागतमा काठेखोला गाउँपालिका–८ लेखानीमा रहेको कादेश बाल विकास केन्द्रको जग्गामा भवन निर्माण शुरु गरेका छन। निर्माण गर्न लागिएको चारकोठे पक्की भवनको खर्कबहादुरका भाइ एकबहादुर काउँचाले बुधबार एक कार्याक्रमका बीच शिलान्यास गरे ।
ब्रिटिश सेनाबाट अवकाशपछि हङकङमा रहेर नेपालका विभिन्न दुर्गम ग्रामीण भेगका जनताका लागि काम गर्दै आएको कादुरी संस्थामा समेत संलग्न रहेका खर्कबहादुरको एकल सहयोगमा बाल विकासको सुविधासम्पन्न भवन निर्माण हुनेछ । हाल बाल विकास केन्द्रमा १३ बालबालिका रहेको बताइएको छ । रासस