Logo

हाई फाई लेख्छ- ‘दुवै जहाज हाम्रा’



काठमाडौं १४ मंसिर । नेपाल एयरलाइन्सले ल्याएका दुवै वाइड बडी विमानको स्वामित्व हाई फ्लाई एयरलाइन्सले आफ्नो देखाएको छ। उसको वेब साइटमा ‘हाम्रा जहाज’ शीर्षकको सूचीअन्तर्गत म्यानिफेक्चरर्स सिरियल नम्बर (एमएसएन) १८७२ र १८७८ का ए ३३०-२४३ पनि समावेश छन्।

नेपाल एयरलाइन्सले हाई फ्लाईसँगै ती जहाज किनेको दाबी गर्दै आएको छ। उसले भने ‘आफ्नो’ भनिरहेको छ। बेचिसकेकालाई कसैले ‘मेरो’ भन्दैन। बेचेपछि सम्बन्धै सकिन्छ। तर, हाई फ्लाईको स्वामित्वमा रहेका जहाजको सूचीमा राखिनुले दुवै गम्भीर सन्देह खडा गराएको छ।

नेपाल एयरलाइन्सका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले केही दिनअघि नागरिक उड्डयन प्राधिकरणले दिएको दर्ता प्रमाणपत्र सार्वजनिक गरेका थिए। त्यसलाई हेरेर ‘स्वामित्व नेपाल एयरलाइन्सकै’ भन्ने धेरैलाई भ्रम प¥यो। कतिले हतारिएर भने÷लेखे पनि। तर, उनले सार्वजनिक गरेको प्रमाणपत्र आधा मात्र थियो। हस्ताक्षरभन्दा तलको भाग त्यसमा च्वाट्टै काटिएको थियो।

प्रमाणपत्रको पुछारमा ‘नोट’ लेखिएको छ, ‘यो प्रमाणपत्र दर्ता प्रक्रियाका लागि मात्र जारी गरिएको हो। यो स्वामित्व (टाइटल) को प्रमाणपत्र होइन। प्राधिकरणले व्यक्तिहरूबीचको स्वामित्वको अधिकार निर्धारण गर्दैन।’ प्रमाणपत्रमा ‘स्वामित्व हस्तान्तरण’ शीर्षक खाली राखिएको छ।

उता हाई फ्लाई जहाज बेच्ने कम्पनी पनि होइन। एयरबसका जहाज भाडामा लगाउने कम्पनीका रूपमा उसले आफूलाई चिनाएको छ। उसले यसअघि कसैलाई जहाज बेचेको पनि छैन। बरु एयरबसका ठूलठूला विमान आफैं उडाउँछ। मिलेसम्म भाडामा लगाउँछ।

‘हाई फ्लाई वाइड बडी विमान भाडामा दिने विशेषज्ञतासहितको विश्वव्यापी अग्रणी कम्पनी हो। एयरलाइन्सहरूका छोटा÷मध्यकालीन वा कुनै सिजनमा चाहिने आवश्यकता परिपूर्ति गर्न यो संस्था सहयोगी बन्नेछ’, उसले आफ्नोबारे वेब साइटमा भनेको छ।

आफ्नो फेसबुक पेजमा पनि उसले आफूलाई भाडावाल कम्पनीकै रूपमा चिनाएको छ। त्यहाँ यसरी परिचय दिएको छ, ‘हाई फ्लाई विश्वका प्रसिद्ध उड्डयन निकायबाट प्रमाणपत्रप्राप्त युरोपियन एयरलाइन्स हो। यो समूहमा २० जहाज छन्। त्यसको आधा हाई फ्लाईले आफैं चलाउँछ र बाँकी विश्वभरि भाडा र चार्टरमा दिइएका छन्।’ त्यस्तै ट्वीटर पेजमा आफूलाई यसरी चिनाएको छ, ‘विश्वव्यापी रूपमा सञ्चालित वायुसेवा, व्यावसायिक जहाज भाडामा लगाउने विशेषज्ञ संस्था।’

हाई फ्लाईको वेब साइटमा एयरबसका विभिन्न विमान भाडामा दिनेबारे यस्तो सूचना राखिएको छ- ‘हाई फ्लाई एयरबसका सबै किसिमका विमान भाडामा दिने सबैभन्दा ठूलो कम्पनी हो। ईएएसए र आईओएसए प्रमाणित तथा एफएएबाट स्वीकृतप्राप्त यस विमान सञ्चालकसँग एयरबसका ए३२१, ए३३०, ए३४० र ए३८० विमान भाडामा उपलब्ध छन्। भाडामा दिनु (चालक दलसहितका विमान, मर्मतसम्भार र बिमा) हाई फ्लाईको ब्यापार हो। र, यसमा हाम्रो एक दशकभन्दा लामो दक्षता छ।’ अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्