काठमाडौँ,१४ मंसिर । दश जना मध्यअमेरिकी आप्रवासी महिलाले अमेरिका प्रवेशको माग गर्दै संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा भोक हड्ताल शुरु गर्ने घोषणा गरेका छन् ।
“हाम्रो आवाज कसैले सुनेन, त्यसैले महिला आन्दोलन गर्ने निर्णयमा हामी पुगेका छौं । र हामी भोक हड्ताल गर्दैछौं,” होन्डुरसकी क्लाउडिया मिरान्डाले बताए। तिजुआनमा आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकी अधिकारीहरुले आप्रवासीको रुपमा अमेरिका प्रवेश गर्न र आवेदन समेत लिन अस्वीकार गरेकामा आक्रोश व्यक्त गरे।
उत्तरी मेक्सिको शहर तिजुआनामा हाल ६ हजारभन्दा बढी मध्यअमेरिकीहरु अमेरिका प्रवेशको पर्खाईमा शिविरमा बसिरहेका छन् । खासगरी होन्डुरसका यी मानिसहरु आफ्नो देशमा व्याप्त गरिबी र हिंसाबाट आक्रान्त भएर देश छाड्न बाध्य भएको बताउँछन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आप्रवास नीतिमै परिवर्तन गर्ने सोचाईमा रहेका छन । उनले मध्यअमेरिकी आप्रवासीहरु आपराधिक पृष्ठभूमिका रहेकाले स्वीकार नगर्ने जानकारी गराए ।
सीमाक्षेत्रमा हाल हजारौं सैनिक परिचालन गरिएको छ । भोक हड्तालमा उत्रने घोषणा गरेका महिलाहरुले मेक्सिकोमा बस्न चाहने आप्रवासीलाई मानवीय आधारमा भिसा दिन पनि मेक्सिकाली अधिकारीहरुसँग आग्रह गरेका छन् । उनीहरुले आफ्नो भोक हड्ताल कति दिन गर्ने भन्ने बारेमा अझै निर्णय गरेका छैनन् ।
अमेरिकाको दक्षिणी सीमासम्म आइपुग्न करिब चार हजार किलोमिटर यात्रा गरेका होन्डुरसका करिब ५०० आप्रवासीले आइतबार अमेरिकी सीमाभित्र प्रवेश गर्ने प्रयत्न गरेका थिए । तर उनीहरुलाई अमेरिकी सीमा सुरक्षा फौजले फिर्ता पठाएको थियो । सुरक्षा फौजले अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो । एजेन्सी