काठमाडौँ, १५ मङ्सिर । एशिया प्रशान्त शिखर सम्मेलनमा बोल्ने अधिकांश मुलुकका नेताले विश्वले हाल सामना गर्नु परिरहेको विभिन्न चुनौतीको सबै मुलुक मिलेर सामना गर्नुपर्ने बताउनुभएको छ ।
युनिभर्सल पिस फेडेरेसनद्वारा आज यहाँ आयोजित उक्त सम्मेलनको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री एवं सम्मेलन आयोजक समितिका संयोजक माधवकुमार नेपालले यस क्षेत्रका मुलुक आतङ्कवाद, चरमपन्थ, रोग र भोकबाट पीडित हँुदै आएको बताउँदै यी समस्याबाट मुक्ति पाउन यस सम्मेलनले निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले यस क्षेत्रका राष्ट्र जलवायु परिवर्तनबाट उत्पन्न समस्याबाट समेत पीडित भएकाले आपसी सहकार्यबाट चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो । नेपालले आधुनिक विश्वले सामना गर्नुपरेको समस्या समाधान गर्न शन्ति स्थापना गर्न राष्ट्रबीच आपसी सम्पर्क सञ्जाल स्थापना गरेर स्थिर र समुन्नत भविष्यका लागि मिलेर कार्य गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
उहाँले कम्बोडियाका प्रधानमन्त्री हुन सेनले विश्वले अहिले व्यापार युद्ध, गरीबी, आतङ्कवाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, नैतिकतामा ह्रास, प्राकृतिक विपद्, हतियारको होडबाजीजस्ता समस्याको सामना गरिहेको उल्लेख गर्दै उहाँले उक्त समस्या र चुनौती विकास सुरक्षा र विश्वका लागि हानिकारक भएको बताउनुभयो ।
प्रधानमन्त्री सेनले यस सन्दर्भमा युनिभर्सल पिस फेडेरेसनले विश्वका समसामयिक चुनौतीमाथिको बहस गर्न एशिया प्रशान्त सम्मेलनको आयोजना गरेकामा प्रशंसा गर्दै विश्वमा शान्ति, स्थायित्व, सुरक्षालगायत विषयमा सबैको चासो रहेको बताउनुभयो ।
विश्व र हाम्रो क्षेत्र (एशिया प्रशान्त)ले निरन्तर व्यापार युद्ध र आधारभूत आरक्षणमा आर्थिक प्रतिस्पर्धाजस्ता चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै उहाँले मुख्य अन्तर्राष्ट्रिय सम्झौताबाट विश्व महाशक्ति देश पछि हटेकामा कम्बोडियाको गम्भीर चासो रहेको बताउनुभयो । कम्बोडिया सानो अर्थतन्त्र भएको मुलुक हो र समावेशी आर्थिक वृद्धिका लागि शान्ति र सुरक्षा महत्वपूर्ण हुने आफूहरुको अनुभव रहेको उहाँले अवगत गराउनुभयो ।
विगतमा आन्तरिक द्वन्द्व र गृहयुद्धको सामना गरी आर्थिक गरीबीको चपेटामा परेको कम्बोडियाले हाल तीव्र आर्थिक वृद्धिदर गरिरहेको अवगत गराउँदै उहाँले कम्बोडियाको आर्थिक विकास विश्वमै सफल उदाहरण बनेको बताउनुभयो ।
यस क्षेत्रको विकास र भविष्यका लागि कम्बोडिया उच्च आशाका साथ प्रतिबद्ध रहेको बताउँदै उहाँले सबै मुलुकबीच शान्ति, सुरक्षा र समृद्धिका लागि स्थिर र सकारात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनको उद्घाटन सत्रमा युनिभर्सल पिस फेडेरेसनका संस्थापक डा हाक जा हान मुनले संस्थाका काम कारवाहीमाथि प्रकाश पार्दै विश्वमा शान्ति स्थापना गर्ने आफूहरुको प्रमुख उद्देश्य भएको धारणा व्यक्त गर्नुभयो ।
युनिभर्सल पिस फेडेरेसन (युपिएफ) का अन्तर्राष्ट्रिय अध्यक्ष डा थोमस जि वाल्सले युपिएफ गैरसरकारी संस्था भएको र यसले विश्वभर आस्थामा आधारित र नागरिक समाजसँग मिलेर १५० देशमा काम गरिरहेको बताउनुभयो । (रासस)
तस्विर : मुकुन्द कालिकोटे