Logo

मेक्सिकोः सत्य निरुपण आयोग गठन गर्ने आदेशमा हस्ताक्षर



मेक्सिको, १८ मंसिर । मेक्सिकोका नयाँ राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओबर्‍याडोरले बेपत्ता भएका ४३ जना विद्यार्थीहरूको बारेमा अनुसन्धान गर्न एउटा सत्य निरुपण आयोग गठन गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। सन् २०१४ मा ती विद्यार्थीहरूलाई इग्वाला नगरबाट अपहरण गरिएको थियो र सुरक्षाफौजका सदस्यहरूमाथि उनीहरूको हत्या गरेको आरोप लाग्दै आएको छ।

ओबर्‍याडोरले राष्ट्रपतिको कार्यभार सम्हालेकै पहिलो दिन नै बेपत्ता पारिएका ती ४३ जना विद्यार्थीहरूको बारेमा छानबिन गरिने घोषणा गरेका हुन्।

मेक्सिको तथा विश्वलाई नै स्तब्ध तुल्याउनेगरी भएका भनिएका ती हत्याबारे अहिलेसम्म यो स्तरमा कुनै छानबिन भएको छैन। पैसठ्ठी वर्षीय ओबर्‍याडोर तेस्रो पटकको प्रयासमा गत जुलाई महिनामा ठूलो जित हासिल गर्दै राष्ट्रपतिमा चुनिएका हुन्।शनिवार उनलाई राष्ट्रपतिको शपथ दिलाइएको थियो।

राष्ट्रपतिको शपथग्रहण समारोहमा बोल्दै ओबर्‍याडोरले आफ्नो कार्यकालमा भ्रष्टचार र दण्डहीनताविरुद्ध लड्ने आफ्ना प्राथमिकताहरू हुने बताएका थिए । इग्वाला नगरमा भएका हत्याबारे छानबिन थालिने उनको प्रमुख चुनावी वाचा रहँदै आएको थियो। ती विद्यार्थीका परिवारहरूलाई न्याय दिलाइने प्रत्याभूति पनि ओबर्‍याडोरले पुनःदिएका छन्।

विद्यार्थी बेपत्ता प्रकरणसम्बन्धी व्यापक आक्रोश भएपनि संवाददाताहरू भन्छन् घटनाबारे अर्थपूर्ण कदम वा संलग्नमाथि कुनै अभियोजन अघि नबढाइएको कार्य पूर्ववर्ती सरकारमाथि लागेको एउटा दाग हो। मेक्सिकोमा कैयौँ हप्तासम्म चलेका विरोधप्रदर्शनहरूपछि ती विद्यार्थीहरू बेपत्ता भएका थिए।

सरकारी सुविधा कटौती गर्ने उनको अभियानको हिस्सास्वरुप ओबर्‍याडोरले राष्ट्रपतिको विमान बेच्नेसहितका उनका अन्य चुनावी वाचाहरूलाई पनि पूरा गर्नेतर्फ काम थालिसकेका छन्। राष्ट्रपति भएपछि ओबर्‍याडोरले आइतवार अन्य यात्रुहरूसँगै एउटा व्यवसायिक विमानमा उडान पनि गरेका थिए। बीबीसी



प्रतिक्रिया दिनुहोस्