काठमाडौं, १८ मंसिर । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले एशिया प्यासिफिक समिट विशुद्ध धार्मिक कार्यक्रम नभएको जिकिर गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यो समिट विशुद्ध धार्मिक कार्यक्रम होईनजस्तो मलाई लाग्छ । भाजपाका नेता विजय जोली आएर लामो भाषण दिएर सबैलाई प्रभावित पारेर फर्किएका छन् । लोकतन्त्रवादी नेतृ आङ साङ सुकी पनि आएकी छिन् । कार्यक्रमको प्रस्तुती हेर्दा यसले धर्म प्रचारको सन्देश गएको मलाई लाग्दैन् ।’
आफूले पनि प्रतिनिधि सभाको सदस्य हुँदा उक्त संस्थाबाट भ्रमणको निम्तो आउँदा संस्थाको बारेमा प्रष्ट नभएकोले भ्रमण प्रस्ताव अस्विकार गरेको उनले सुनाए । उनले भने,‘यो दोहोरो चरित्र कसैलेपनि देखाउन हुँदैन् । बरु बेठीक कुरा छ भने यथार्थ धरातलमा बसेर त्यसको छलफल गरौं । आज केपी ओलीले पाएको पुस्कार हिजो गिरिजा प्रसाद कोइरालाले पनि ग्रहण गर्नुभएको थियो । अब त्यसको रिभ्यु गर्नुपर्ने हो भने नेपाली कांग्रेसले पनि गर्नुपर्यो नि त । बैठक गर्नुपर्यो । हिजो गल्ती भएको रैछ भनेर कान समात्नुपर्यो ।’
अहिले चर्को स्वरमा विरोध गर्ने नेपाली कांग्रेसका केही नेताहरु त्यही संस्थाको यस्तै खालका कार्यक्रमहरुमा अमेरिका, फिजीलगायतका देशहरुमा गएका उदाहरणहरुपनि प्रशस्तै रहेको उनले सुनाए । उनले थपे,‘आफू चाहीँ त्यही संस्थाको यस्तै स्वरुपको कार्यक्रममा सहभागी हुने, अनि यसकोमात्रै विरोध चाहीँ किन ? यसको अर्थ यो कार्यक्रमको मैले बचाउ गर्न खोजेको होईन् । मैले भन्न खोजेको के हो भने कसैले पनि दोहोरो चरित्र देखाउनुहुँदैन् ।’ सरकारले यो समिटको निम्ति पैसा खर्च गरेको छ भने त्यसको छानबिन गर्नुपर्ने उनको भनाई छ ।
https://www.youtube.com/watch?v=1tSxLer5_PI
मन्त्री ज्वालाले भने,‘कुनै संस्थाको कार्यक्रममा सरकारले खर्च गर्न हुँदैन र पाउँदैन् । यदि खर्च गरेको छ भने त्यसको बारेमा छानबिन गर्नुपर्छ । अब प्रधानमन्त्रीलाई पुरस्कार दिएको छ । त्यो पुरस्कार प्रधानमन्त्रीले बालबालिकाको निम्ति खर्च गर्छु भन्नुभएको छ । यो संस्था हिजोदेखि नै क्रियाशिल थियो । हाम्रो देशमा मात्रै होईन, विश्वका अन्य देशहरुमा पनि क्रियाशिल छ । धेरै क्रियाकलापहरु भैरहेका छन् । विभिन्न कार्यक्रममा विभिन्न मान्छेहरु सहभागी हुँदै आएका छन् । यसको समग्र छानबिन हुनुपर्छ ।’
बलात्कारका घट्ना, बालक अपहरणपछि हत्या भएको घट्नाप्रति आफूहरु संवेदनशील रहेको उनले सुनाए । उनले भने,‘अपराधी पत्ता लगाउने, दोषीलाई कारबाही गर्ने कुरामा सरकारले छानबिन गर्न कुनै कमी गर्नुहुँदैन् । यदि कमी भएको छ भने सरकारले त्यसलाई सधार्नुपर्छ । निर्मला पन्तको बलात्कारी होस वा बालक अपहरणपछि हत्या गरिएका अपराधी जोसुकै हुन्, कसैलाई पनि छुट दिनुहुँदैन् ।’
निर्मला पन्त प्रकरणको छानबिन अब निर्मम ढंगले गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘सरकारको तर्फबाट कहीँ कतै कमी भएको छ भने अब कुनै कञ्जुस्याँई नगरेर सम्पूर्ण संयन्त्र र शक्ति प्रयोग गरेर अनुशन्धान हुनुपर्छ । कारबाही हुनुपर्छ । ढिलै भएपनि साँच्चिकै बलात्कारी, अपराधी र हत्याराहरु छुट्नुहुँदैन् ।’
उनले पुँजीगत खर्च कम हुनु नेपालकै ठूलो समस्या भएको सुनाउँदै उनले कर्णाली प्रदेशमा पनि यही रोग रहेको जिकिर गरे । उनले भने,कर्णाली मात्रै होईन, जुनसुकै सरकारको कुरा गर्दापनि पुँजीगत खर्च जुन अनुपातमा हुनुपर्दथ्यो, त्यो अत्यन्तै कम छ । मैले मेरो प्रदेशमा असारमामात्रै खर्च गर्ने कुरालाई बन्द गरिसकेको छु । बजेट भाषणमै जेठ मसान्तसम्म सम्पूर्ण विकास निर्माणको काम बन्द हुन्छ । असारमा कर्णालीमा काम हुँदैन् ।’
उनले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार, संरचना र कर्मचारी उपलब्ध नगराएको भन्दै गुनासो पोखे । यद्धपी उनले कर्णाली प्रदेशले छिट्टै केही प्राविधिक कर्मचारीहरु आँफै भर्ना गैरहेको पनि जानकारी दिए । उनले भने,‘प्रत्येक मन्त्रालयमा ६, ७ जनाको दरले हामी कर्मचारी भर्ना गर्छौं ।’