Logo

स्वदेशमै रोजगारको अवसर सिर्जना गरिन्छः मन्त्री पोखरेल



काठमाडौँ,२८ मंसिर ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालय तथा प्राविधिक शिक्षालयबाट दीक्षित विद्यार्थीलाई स्वदेशमा नै काम गर्ने अवसर सिर्जना गर्न सरकार तल्लनी रहेको बताएका छन ।

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २४औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दे मन्त्री पोखरेलले दीक्षित विद्यार्थीलाई शिक्षामा असाधारण ढङ्गले प्रगति गरेका मुलुकको सफलताको कथा अध्ययन गर्न आग्रह गरेका थिए ।

उनले भने, “यो बेलामा दीक्षित हुनुभएका विद्यार्थीले आफ्नो सीप, ज्ञान र स्वभावलाई समाजसम्म पु¥याउन आग्रह गर्दछु ।” उनले आगामी पुस ५ गते प्रधानमन्त्रीको उपस्थितिमा सङ्घीय शिक्षा नीतिको पहिलो मस्यौदाका बारेमा राष्ट्रिय सम्मेलन गर्ने तयारीमा मन्त्रालय रहेको जानकारी गराए ।

सरकार यतिबेला २५ वर्षे रणनीति बनाउन लागिरहेको अवस्था भएकाले त्यसमा सबैको सहयोग र सल्लाह दिनसमेत आग्रह गरेका थिए । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजु श्रेष्ठले उच्चस्तरका शैक्षिक अवसर देशमा नै सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । उनले प्राज्ञिक संस्थाले उद्योग र उद्यमशीलताको विकासमा विशेष भूमिका खेल्ने भएकाले औद्योगिक क्षेत्र, निजी क्षेत्र र नयाँ उद्यमीलाई विश्वविद्यालयसँग हातेमालो गर्न आह्वान गरे।

समारोहमा चीनका वरिष्ठ वैज्ञानिक तथा सन यात्सेन विश्वविद्यालयका प्रेसिडेन्ट प्राध्यापक जुन लुओको उपस्थिति थियो । काठमाडौँ विश्वविद्यालयले पहिलोपटक नेपाली र इलेक्ट्रिकल एण्ड इलोक्ट्रोनिक्स गरी दुई विधामा पिएचडी उपाधिसमेत प्रदान गरिएको छ । स्नात्तकोत्तर तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गरिने चान्सलर स्वर्णपदक स्कूल अफ साइन्सका मास्टर अफ फार्मेसीमा ३।९८ सिजिपिए प्राप्त गर्ने अनिसा शाक्यलाई र स्नातक तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गरिने भाइस चान्सलर स्वर्ण पदक स्कूल अफ साइन्सबाट नै बायोटेक्नोलोजी विषयमा ३।९९४ सिजिपिए ल्याउने सन्देश आचार्यलाई प्रदान गरियो ।

यसैगरी एमबिए तहमा सबैभन्दा बढी सिजिपिए ल्याउने विद्यार्थीलाई प्रदान गरिने जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक स्कूल अफ मेनेजमेन्टबाट एमबिएमा ३।९५ सिजिपिए ल्याउने मेरिना श्रेष्ठलाई र एमबिए तहका सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने रणबहादुर शाह स्वर्ण पदक स्कूल अफ मेनेजमेन्ट कै एमबिए तहमा ३।७६ सिजिपिए ल्याउने सर्वोत्कृष्ट विद्यार्थी निदीप पन्तलाई प्रदान गरिएको थियो ।

विश्वविद्यालयको यस दीक्षान्तमा मेनेजमेन्ट, साइन्स, इञ्जिनीयरिङ, मानविकी र शिक्षा सङ्कायका १४ पिएचडी र ५१ एमफिलसहित स्नातक र स्नात्तकोत्तर तहका एक हजार ३०० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा मेनेजमेन्टका ४५१, साइन्सका २५७, इञ्जिनीयरिङका २७९, मानविकीका २२७ र शिक्षा सङ्कायका १४७ रहेका छन् ।

दीक्षित हुने विदेशी विद्यार्थी अष्ट्रेलिया, भुटान, क्यानडा, फ्रान्स, जर्मनी, भारत, पाकिस्तान, आयरल्याण्ड, बेलायत र अमेरिकाका विद्यार्थी गरी २० रहेका छन् ।

यसअघि काठमाडाँै विश्वविद्यालयको गत मङ्सिर ७ गते २४ औँ दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रममा मेडिकल साइन्सतर्फका विद्यार्थीलाई दीक्षित गर्न समारोह आयोजना गरिएको थियो । दुवै चरणका कार्यक्रममा गरी २४ औँ दीक्षान्त समारोहमा दीक्षित हुनेको सङ्ख्या दुई हजार ९१६ रहेका छन् जसमा श्रीलङ्का र माल्दिभ्ससहित १२ देशका गरी १८१ रहेका छन् ।

यस समारोहसम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट २८ हजार ७९४ दीक्षित भइसकेको विश्वविद्यालयले जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्