Logo

विद्यालयलाई पाँच लाख सहयोग



म्याग्दी, २ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका देवेन्द्र पुर्जाले सामुदायिक विद्यालयलाई पाँच लाख सहयोग गर्नुभएको छ । काफलडाँडाको थपना घर भई हाल हङकङमा बस्दै आउनुभएका पुर्जाले तीन विद्यालयलाई  चार लाख ९९ हजार ६०५ सहयोग गर्नुभएको वडाध्यक्ष खमबहादुर गर्बुजाले जानकारी दिनुभयो ।

काफलडाँडा आधारभूत विद्यालयलाई तीन लाख ३३ हजार, राम्चेको देउराली आधारभूत विद्यालयलाई  एक लाख ११ हजार १०० र जलजला गाउँपालिका–१ बाँसखर्कको ज्योतिमण्डल माविलाई ५५ हजार ५०५ सहयोग गर्नुभएको हो ।

आफ्नो जन्मथलो आउनुभएका पुर्जाले घरमै एक कार्यक्रमको आयोजना गरेर विद्यालयका प्रतिनिधिलाई नगद हस्तान्तरण गर्नुभएको थियो । पुर्जाले काफलडाँडाको सूर्योदय युवा क्लबलाई ३५ हजार ५०० सहयोग गर्नुभएको छ ।

आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक र भौतिक विकासमा मद्दत पुगोस् भनेर सहयोग गरेको पुर्जाले बताउनुभयो । प्राप्त सहयोग निजी स्रोतका शिक्षकको तलबभत्ता, शैक्षिक गतिविधि र भौतिक पूर्वाधारको क्षेत्रमा परिचालन गरिने विद्यालयले जनाएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्