काठमाडौं, ३ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक मंगलबार ३ घण्टा पनि पुरा नबसी स्थगित भएको हो । बैठक भोलि बिहान ८ बजे पुनः पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
मंगलबार बिहान साढे ८ बजे सुरु भएको बैठक ११ः१० सम्म बसेको थियो । मंगलबारको बैठकमा स्थायी समिति सदस्यहरु केशब बडाल, टोपबहादुर रायमाझी, भीम बहादुर रावल, योगेश भट्टराई, शंकर पोख्रेल, सत्यनारायण मण्डल, सोमनाथ अधिकारी, पृथ्वीसुब्बा गुरुङ लगायतले धारणा राखेका थिए ।
उनीहरुले अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा आफ्ना धारणाहरु राखेका थिए । नेताहरुले पार्टी नेतृत्व र सरकारको काम गराईप्रति आलोचना गरेका छन् ।