Logo

पाँच खोलाबाट ढुङ्गा गिट्टी झिक्न दिने सहमति



काठमाडौँ,५ पुस । माडी नगरपालिका र चितवन राष्ट्रिय निकुञ्जबीच पाँच खोलाबाट नदीजन्य सामग्री ढुङ्गा, गिट्टी, बालुवा०प्रयोग गर्ने सहमति भएको छ । निकुञ्ज, मध्यवर्ती उपभोक्ता समिति र नगरपालिकाबीच बुधबार भएको छलफलबाट पुस र माघ महिनामा पाँच खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा झिक्ने सहमति भएको हो । निकुञ्जले गोहीको प्रजनन् समय भन्दै पुस र माघ महीनामा ढुङ्गा, गिट्टी, बालुवा झिक्न रोक लगाउँदै आएको थियो ।

दुई महीनाका लागि मगुइ, चन्द्रे, बगही, चितही र पतरे खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा झिक्ने र त्यसको रोयल्टी नगरपालिकाले निकुञ्जलाई बुझाउने निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी गराए। रिउ किनारादेखि वन क्षेत्रभन्दा बाहिर चुरे क्षेत्रलाई प्रभाव नपर्ने गरी ढुङ्गा, गिट्टी प्रयोग गर्न दिने निर्णय गरिएको ढकालले बताए ।

यस्तै रेवातिरमा घाँसेमैदान निर्माण गर्न निकुञ्ज, नगरपालिका, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्राविधिक एवं विज्ञहरूसँग छलफल गरी आपसी समन्वय गरिने भएको छ । हात्ती नियन्त्रण गर्न गरिएको प्रयासलाई निकुञ्ज, उपभोक्ता समिति र नगरपालिकाको समन्वयमा प्रभावकारी रूपमा अगाडि बढाउने समेत सहमति भएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्