काठमाडौँ,९ पुस । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा युद्धरत इस्लामिक स्टेट आइएस समूहका बाँकी लडाकूलाई परास्त गर्ने टर्कीका राष्ट्रपतिले विश्वास दिलाएको बताएका छन ।
टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानसँगको भेटपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भने, “टर्कीका राष्ट्रपतिले सिरियामा जेजति आइएसका लडाकू छन् उनीहरुलाई टर्कीले नै परास्त गर्न सक्षम रहेको विश्वास दिलाएका छन।”
इस्लामिक स्टेट परास्त भैनसकेको र सिरियामा जारी गृहयुद्ध समाप्त समेत नभएको अवस्थामा सिरियामा तैनाथ करिब दुई हजार अमेरिकी सेना फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको घोषणालाई लिएर देशभित्र र बाहिर उनको तिब्र आलोचना भइरहेको छ ।ट्रम्पले ट्वीटमा अगाडि लेखेका छन “एर्डोगान यो विषय सुल्झाउन सक्षम व्यक्तित्व हुनुहुन्छ ।”
दुबै नेताबीच वासिङटनमा भएको भेटवार्ता मुख्यतः सिरियामा सक्रिय आइएस समूह र अमेरिकी फौजको फिर्तीका विषयमा केन्द्रित रहेको ह्वाइट हाउसले जनाएको छ । सिरियामा तैनाथ अमेरिकी सेनाले आइएस विरुद्ध बहुराष्ट्रिय सङ्घर्षमा मद्दत गरेको थियो ।विवादकै बीच ट्रम्पले लेखेको ट्वीटमा भनेका छन “हाम्रो सैनिक बल घरफिर्ता हुँदैछ ।” रासस