Logo

कालीकोट आगलागीः पीडितलाई राज्यको प्रत्याभूति दिलाउन आग्रह



काठमाडौँ,१० पुस । सभामुख कृष्णबहादुर महराले कालीकोट पलाता गाउँपालिका–१ खाडा गाउँमा आगलागीमा परी घाइते भएका नागरिकहरुलाई स्वास्थ्योपचारको उचित व्यवस्था गर्न र उचित क्षतिपूर्ति दिलाई राज्यको प्रत्याभूति दिलाउन सङ्घ तथा प्रदेश सरकारसँग आग्रह गरेका छन ।

सभामुख महराले आज एक वक्तव्यमार्फत पुसको चिसोमा घरबारविहीन भएका नागरिकको तत्काल अल्पकालीन बसोबासको व्यवस्था गर्न र दीर्घकालीन रुपमा यस्ता दुर्घटना रोक्नका लागि खर, फुसका छाना भएका घरहरु हटाउनेतर्फ विशेष पहल गर्नसमेत अनुरोध गरेका छन ।

आगलागीबाट ८७ घर जलेको खबरले आफूलाई दुखित तुल्याएको उल्लेख गर्दै उनले अकल्पनीय र निकै पीडादायी आगलागीको घटनाबाट प्रभावितलाई विपत्तिको सामना गर्ने शक्ति प्राप्त होस् भन्ने कामनाब्यक्त गरेका छन ।

आइतबार मध्यरातिदेखि भएको आगलागीबाट ८७ घर जलेर नष्ट भएका छन् । आगलागीबाट सात जना स्थानीयवासी घाइते र थुप्रै पशुचौपायाको मृत्यु हुनाका साथै करोडौँको धनमाल जलेर नष्ट भएको थियो ।

सभामुख महराले आगलागी पीडितलाई दुःखको यस घडीमा धैर्यधारण गरी कठिनाइको सामना गर्न आग्रह गर्दै राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन । रासस



प्रतिक्रिया दिनुहोस्