Logo

नेकपा बैठक आज : ओली र प्रचण्डले जवाफ दिने



काठमाडौं ११ पुस ।  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठक बुधवार बस्ने भएको छ ।  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यस्तताको कारण पुस ८ गते स्थगित गरिएको बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री एवं ने क पाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघिको बैठकमा सरकार र पार्टीबारे उठेका जिज्ञासाको जवाफ दिनुहुनेछ ।CPN-Party-office
मङ्सिर २९ गतेदेखि शुरु भएको बैठक पुस ८ गतेसम्म चलेको थियो । बैठकको पहिलो दिन अध्यक्षद्वय ओली र प्रचण्डले संयुक्त रुपमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनको अध्ययनका लागि पुस १ गते एकदिन समय छुट्याइएको थियो । स्थायी कमिटीका सदस्यहरूले प्रतिवेदन अध्ययन गरिसकेपछि पुस २ गतेदेखि शुरु भएको बैठक पुस ८ गतेसम्म चलेको थियो ।
ती बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यहरूले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
बैठकमा अधिकांश सदस्यहरूले सरकार र पार्टी नेतृत्वको कामकारवाहीको समीक्षा गर्दै सुधारका लागि सुझाव दिनुभएको थियो ।
अध्यक्षद्वयसँगै पार्टीका सचिवालय सदस्य वामदेव गौतमले छुट्टै प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्थायी समिति सदस्य भीम रावलले बैठकमा लिखित विचार नै राख्नुभयो ।
पार्टीभित्र देखिएको आन्तरिक विवाद सुल्झाउने, पार्टी एकताका बाँकी काम टुङ्ग्याउने र सरकारका कामको समीक्षा गरेर जनतासँग गरेको प्रतिवद्धता अनुसार काम गर्नुपर्ने विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको स्पष्ट धारणा आउने अपेक्षा रहेको स्थायी कमिटिका सदस्य देव गुरुङले बताउतुभयो ।



प्रतिक्रिया दिनुहोस्