Logo

उत्पादन बिना आर्थिक समृद्धि सम्भव छैन्ः मुख्यमन्त्री शाही



काठमाडौँ,११ पुस । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक समृद्धिका लागि उत्पादनको योजना बनाउन आवश्यक रहेको बताएका छन।रुकुम पश्चिमको चौरजहारी नगरपालिकाद्वारा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री शाहीले समृद्धिका लागि प्रत्येक स्थानीय तहले उत्पादनको योजना बनाउनुपर्नेमा जोड दिएका हुन ।

“हरेक नागरिकले कुनै न कुनै व्यावसायिक उत्पादनको थालनी गर्नुपर्छ”, उनले भने “उत्पादन बिना आर्थिक समृद्धि सम्भव छैन्, त्यसैले उत्पादनमा लाग्नुस् ।” अर्गानिक कृषिजन्य वस्तुको विश्वबजारमा ठूलो माग रहेको भन्दै बताउँदै उनले व्यावसायिक कृषिको विकासले मात्रै मुलुक आर्थिकरुपले आत्मनिर्भर हुनसक्ने जनाएका थिए ।

मुख्यमन्त्री शाहीले उत्पादन र बजारीकरणका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको प्रस्ट पारे । “चौरजहारीमा कृषि तथा जडीबुटीजन्य उद्योगको राम्रो सम्भावना छ”, उनले भने, “औद्योगिक शहरको विकासका लागि योजना बनाउन ढिला नगर्नुस् ।” मुख्यमन्त्रीले सल्लीबजार–चौरजहारी सडक कालोपत्रे गर्नका लागि प्रदेश सरकारले रु ६ करोड बजेट विनियोजन गरिसकेको जानकारी दिएका थिए । उनले चौरजहारीस्थित लहरेसिमल दुग्ध उत्पादन फर्मको समेत अवलोकन गरेका थिए।

अन्तरक्रियामा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले चौरजहारी नगरपालिकाको समग्र विकासमा आफू लागिपरेको जानकारी गराए। कार्यक्रममा प्रदेशसभा सदस्य गोपाल शर्मा, जिल्ला समन्वय समिति रुकुम पश्चिमका संयोजक राजकुमार शर्मा र चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले आ–आफनो धारणा राखेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्