Logo

बिग बासको तेस्रो खेलमा सन्दीपको सशक्त प्रदर्शन



काठमाडौं १३ पुस । पहिलोपटक अस्ट्रेलियन बिग बास लिग खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्रतियोगितामा आफ्नो सशक्त प्रदर्शन जारी राखेका छन् । बिहीबार भएको आफ्नो तेस्रो खेलमा सन्दीपसहितको सशक्त प्रदर्शनमा उनको टोली मेलबर्न स्टार्सले प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

यो खेल र जितसँगै सन्दीप प्रतियोगितामा सर्बाधिक विकेट लिने खेलाडीको सूचीको दोस्रो स्थानमा पुगेका छन् । सन्दीप शीर्ष स्थानमा रहेका अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका सिड्नी सिक्सर्सका घरेलु खेलाडी स्टिभ ओकिफभन्दा बलिङ इकोनोमीका आधारमा मात्रै पछि परेका छन् । उनीहरू दुवैको सात/सात विकेट पुगेको छ । उनीहरूभन्दा पछि अस्ट्रेलियन खेलाडीद्वय डानियल साम्स र जासन बेहरेन्डोर्फ रहेका छन् । दुई खेल खेलेका सिड्नी थन्डरका डानियल र तीन खेल खेलेका पर्थ स्कोर्चरका जासनको ६/६ विकेट छ ।

बिहीबार भएको खेलमा सन्दीपले चार ओभरमा मात्रै १८ रन खर्चेर दुई महŒवपूर्ण विकेट लिँदा उनको टोली मेलबर्नले सिड्नी सिक्सरविरुद्ध पाँच विकेटको जित हात पारेको हो । सिड्नी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको सिड्नी सिक्सरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३० रनको योगफल तय गरेको थियो ।

जवाफमा सन्दीपको टोली मेलबर्नले स्टार्सले १४.५ ओभरमा पाँच विकेट गुमाउँदै एक सय ३२ रन बनाएर जित निश्चित गरेको हो । टोलीको जितमा पिटर ह्यान्ड्सकम्बले ३५ बलमै ७० रनको योगदान दिए । यस्तै ज्याक्सन कोलम्यानले तीन विकेट लिँदा सन्दीप र वेस्ट इन्डिजका ड्वाइन ब्राभोले दुई÷दुई विकेट लिएका हुन् । त्यसका लागि ज्याक्सनले तीन ओभरमा १८ रन खर्चंदा सन्दीपले चार ओभरमा १८ रन र ब्राभोले चार ओभरमा २८ रन खर्चिएका थिए । अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्