Logo

हुथी विद्रोहीले खाना चोरेको आरोप



काठमाडौँ,१७ पुष । विश्व खाद्य कार्यक्रम, डब्लूएफपीले यमनका हुथी विद्रोहीलाई उनीहरूकै नियन्त्रणमा रहेको क्षेत्रमा उपलब्ध गराइएको अति आवश्यक खाद्य सहायता अन्तै नलान आग्रह गरेको छ।

संयुक्त राष्ट्र संघको एक निकायले गरेको सर्वेक्षण अनुसार यमनको राजधानी सानाका मानिसहरूले उनीहरूले पाउनु पर्ने भनिएको रासन समेत पाएका छैनन्।विश्व खाद्य कार्यक्रम डब्लूएफपीले खाद्य सामग्री बोकेको ठूला गाडीहरू वितरणस्थलबाट गैर कानुनी रूपमा हटाइँदै गरेको बताएको छ।

ती खाद्य सामग्री खुल्ला बजारमा विक्री गरिँदैछ वा वितरण गर्न नपर्ने मानिसहरूलाई वितरण गरिँदै गरेको संघले जनाएको छ।हुथीहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् तर खाद्य सहायता अन्तै लगेको भन्ने आरोपबारे भने असहमति जनाएका छन्।

संयुक्त राष्ट्र संघका अनुसार करीब २ करोड यमनीहरू खाद्य अभाव झेलिरहेका छन्। तीमध्ये आधा जसोलाई त अर्को छाक कसरी टर्छ भन्ने पनि थाहा छैन।सन् २०१५ मा विद्रोह चुलिएपछि यमनको अवस्था झन नाजुक बनेको हो।त्यसपछि यमनी राष्ट्रपति अब्द राब्बुह मन्सुर हादी यमन छोड्न बाध्य भएका थिए।युद्धमा करीब ७ हजार गैर सैनिकहरू मारिएका थिए भने १० हजार सात सय मानिसहरू घाइते भएका थिए।

हजारौँ अन्य गैर सैनिकहरूको संक्रामक रोगहरू, कुपोषण, विभिन्न स्वास्थ्य समस्यालगायतका कारण मृत्यु भएको बताइएको छ।डब्लूएफपीका निर्देशक डेभिड बिस्लेले खाद्य सामग्री वितरणमा भएको अनियमितताले भोका मान्छेहरूको मुखबाट खाना चोरिएको भनी बक्तव्यमा उल्लेख गरेका छन्।

ूयमनका धेरै बालबालिका खान नपाएर मरिरहेका छन्। यस्तोमा उनीहरूले पाउनु पर्ने खाना उनीहरूसम्म नपुर्याउनु अपराध हो।ू उनले भने। यस्तो आपराधिक घट्ना तत्काल बन्द गरिनु पर्ने उनले बताएका छन्।

डब्लूएफपीले उसका निगरानीकर्ताहरूसँग राहत बोकेका गाडीहरू निर्दिष्ट वितरण केन्द्रहरूभन्दा अन्यत्रै लगिएको तस्बिरहरू प्रमाणको रूपमा रहेको बताएको छ।उनीहरूले स्थानीय अधिकारीहरूको संलग्नतामा लाभग्राही छनोटमा हेराफेरी गरिएको र वितरित राहतको झुटो रेकर्ड राखेको बताएका छन्।

राहतमा पठाइएको खाना निर्दिष्ट मानिसहरूलाई वितरण नगरिएको र केही खाना बजारमा बेचिँदै गरेको भेटिएको डब्लुएफपीले जनाएको छ।बीबीसी



प्रतिक्रिया दिनुहोस्