Logo

वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुँदै



पोखरा,२१ पुस । वर्षौंदेखि खानेपानीको चरम अभाव भोग्दै आएका रुपा गाउँपालिका–७ हंसपुरका स्थानीयवासी उक्त समस्याबाट मुक्त बन्ने भएका छन् ।

युनिका फाउण्डेशन नेदरल्याण्ड, रुपा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा सो वडामा ‘रामकोट सोलार लिप्टिङ खानेपानी परियोजना’ निर्माणका लागि त्रिपक्षीय सम्झौता भएको छ ।

गाउँपालिकाको कुडुलेखोलाबाट ७५० मिटरको उचाइमा अवस्थित स्याक्लुङ र डिस्टागाउँमा छुट्टाछुट्टै दुईवटा निर्माण गरिने पानीट्याङ्कीसहितको सो परियोजनाको कूल लागत रु पाँच करोड ८९ लाख एक हजार २५६ रहेको छ । योजनाका लागि फाउण्डेशनको रु तीन करोड ४३ लाख ६६ हजार ३५३, रुपा गाउँपालिकाको रु एक करोड ८८ लाख ४५ हजार १२० र नेपाल रेडक्रस सोसाइटीको रु तीन लाख लगानी हुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा फाउण्डेशनका प्रतिनिधि सुष्मा थापा, रेडक्रस जिल्ला अध्यक्ष डोलराज पाण्डे र गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

उच्च पहाडी भागमा रहेको सो वडामा वर्षौंदेखि स्थानीयवासीलाई एक गाग्री खानेपानीको लागि घण्टौँसम्म समय खर्चिनुपर्ने बाध्यताको अन्त्यका लागि सञ्चालन गरिने योजना साढे दुई वर्षमा सम्पन्न गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानलाई मूर्तरुप दिने उद्देश्यका साथ गरिएको सम्झौताले प्रत्येक घरमा धारा जडान गरिने लक्ष्य राखिएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । “योजना सम्पन्न भएपछि ३३३ परिवारका लगभग दुई हजारसहित वडा कार्यालय, तीन वटा सामुदायिक विद्यालय, हेल्थपोष्ट र कृषि विकास कार्यालयमा आउने विद्यार्थी एवं सेवाग्राहीले खानेपानीको सुविधा पाउने छन्”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार गाउँपालिकाको अन्य वडामा १९ वटा खानेपानी योजना निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । एक वर्षको अवधिमा घर घरमा खानेपानी पु¥याउने गाउँपालिकाका अध्यक्ष ओझाले जानकारी दिनुभयो ।

परियोजनाका प्राविधिक कालीदास सापकोटाका अनुसार योजनाको दिगोपनाका लागि स्थानीय आठ जनालाई आवश्यक तालीम प्रदान गरी मर्मतसम्भार गर्नसक्ने दक्ष जनशक्ति तयार गरिने लक्ष्य छ ।

उपल्लो भागमा रहेको मूललाई पाइप विस्तार गरी गाउँसम्म ल्याएर खानेपानीको सुविधा पु¥याउँदै आएकोमा पछिल्लो समय तल्लो भागबाट माथि पानी लैजान जटिल प्रकृति भए पनि सोलार लिफ्टिङ प्रविधि उपयोगी बनेको नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष डोलराज पाण्डेले बताउनुभयो ।

पानीका स्रोतभन्दा ग्रामीण बस्ती उच्च स्थानमा भएका कारण अधिकांश स्थानमा पानीको चरम अभाव भइरहेका वेला कास्की र आसपासका जिल्लामा लिफ्टिङ प्रविधि वरदान सावित भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्