Logo

अमेरिकाःसवारी दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु



काठमाडौँ,२३ पुस । एक जना मदिरा सेवन गरेका शंकास्पद चालकले गलत दिशातर्फ हाँकेको पिकअप ट्रकले ठक्कर दिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुले मिसिगनबाट आउँदै गरेको सवारी साधनलाई आइतबार बिहान ठक्कर दिएको बताएका छन् । दुर्घटनामा पिकअप चालकको पनि मृत्यु भएको छ ।

केन्टकीको इन्टरस्टेट राजमार्गमा उक्त दुर्घटना बिहानीपख साढे दुई बजे भएको थियो । प्रहरीका अनुसार दुर्घटना हुनासाथ एसयुभी कारमा आगो सल्किएको र परिवारका सबै पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

मिसिगनको नर्थभिलमा बसोबास रहेको उक्त परिवार फ्लोरिडामा छुट्टी मनाएर घर फर्कदै थियो । प्रत्यक्षदर्शी केनेथ डीग्याफले पिकअप ट्रक उल्टो बाटो हिँडेको र आफूसँग पनि उक्त गाडी ठोक्किनबाट जोगिएको बताउनुभयो । “त्यो पिकअप ट्रक बीच बाटो ९लेन०मा उल्टो दिशातर्फ दौडिरहेको थियो । मैले आफ्नो सवारीलाई बल्लतल्ल जोगाएर दाहिने लेनमा लैजानु परेको थियो । मेरो विचारमा त्यो गाडी गुडिरहेको होइन, उडिरहेको थियो ।”

प्रहरीले मारिनेहरुमा इसाम अब्बास र रीमा अब्बास तथा उनीहरुका तीन जना छोराछोरी अलि अब्बास, इसाबेला अब्बास र गिसेल अब्बास रहेको जनाएको छ ।पिकअप ट्रकका चालक भने जर्जटाउनका ४१ वर्षीय जो ली बेली रहेका छन् ।

इन्टरस्टेट राजमार्गमा पछिल्ला केही दिनहरुमा भएका दुर्घटनाहरुमा मृत्यु हुनेहरुको संख्या बढेको प्रहरीले जनाएको छ ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्