Logo

माडीको समस्याबारे प्रतिनिधि मण्डलसहित ओली-प्रचण्डबीच बैठक



काठमाडौं, ५ माघ । चितवन राष्ट्रिय निकुञ्जका कारण चितवनको माडी नगरपालिकाका बासिन्दाले भोग्नुपरेका समस्या लिएर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ ।

शुक्रबार माडी नगरपालिकाका मेयर ठाकुर ढकालसहितको प्रतिनिधि मण्डल अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेको थियो । प्रतिनिधि मण्डलले माडीका स्थानीय बासिन्दाले भोग्नुपरेका समस्या समाधानका लागि ठोस पहल गर्न अध्यक्ष प्रचण्डसँग अनुरोध गरेको छ ।

प्रतिनिधि मण्डलसँग केहीबेरको छलफलपछि अध्यक्ष प्रचण्ड चितवनबाट आएको प्रतिनिधि मण्डल लिएर प्रधानमन्त्री कार्यालय सिंहदरबार पुग्नुभएकाे थियाे । प्रतिनिधि मण्डलमा मेयर ढकाल, नेकपाका तीन नम्वर प्रदेशका अध्यक्ष नारायण दाहाल, तीन नम्वर प्रदेशका सचिव आनन्द पोखरेल, पूर्वउपप्रधानमन्त्री अमिक शेरचन र चितवनका जिल्लास्तरीय नेताहरु सहभागी हुनुहुन्थ्याे।

छलफलका क्रममा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई पनि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाउनु भएकाे थियाे ।

प्रतिनिधि मण्डलले निकुञ्जका कारण माडीका बासिन्दाले भोग्नुपरेका समस्या प्रधानमन्त्रीलाई अवगत गराएको थियो । प्रतिनिधि मण्डलले निकुञ्जका कारण माडी क्षेत्रमा आवातजावतमा समस्या परेको, घरायसी सामानसमेत निकुञ्जको बाटो हुँदै लान नपाइने अवस्था रहेको प्रधानमन्त्रीलाई अवगत गराएको थियो ।

‘देश शान्ति प्रक्रियामा आए पनि माडीमा संकटकालकै अवस्था छ’ प्रतिनिधि मण्डलका सदस्यहरुले प्रधानमन्त्रीसँग भन्नुभयाे, ‘हामीले हाम्रो घरायसी सामान भरतपुर, काठमाडौं वा अन्यत्र लैजान पाउँदैनौं, अन्यत्रबाट घरायसी कामका लागि ल्याएको सामान पनि निकुञ्जले रोकिदिन्छ । यसरी त कसरी बाँच्न सकिन्छ ? उपाय खोज्दिनुपर्यो ।’

प्रतिनिधि मण्डलले निजी स्वामित्वमा रहेको ढुंगा, गिढी, बालुवाको भोगचलन गर्न नपाएको, राष्ट्रिय निकुञ्जले आवातजावतमा प्रतिबन्ध लगाउँदा एक प्रकारको बन्दी जीवन बिताउनु परेको प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । माडीको बाँदरझुलाबाट माडी नगरपालिका कार्यालय आउन अवरोध गरिएको र सवारी साधन आवातजावतमा रोक लगाइएको कुरा पनि प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग राखेको थियो ।

प्रतिनिधि मण्डलले राष्ट्रिय निकुञ्ज नेपालकै गौरवको विषय भए पनि आफूहरुले बन्दी जीवन बिताउनुपरेको भन्दै बिकल्प खोज्न प्रधानमन्त्रीसँग आग्रह गरेको हो । २०२९ सालमा बनेको निकुञ्जसम्बन्धि ऐन संशोधन गरी स्थानीयका माग सम्बोधन गर्न पनि प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसँग अनुरोध गरेको थियो ।

प्रतिनिधि मण्डललाई लिएर बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले माडीका जनताले भोगेका समस्याहरुबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । प्रचण्डले आफूले माडीका जनतासँग पटकपटक प्रत्यक्ष अन्तरक्रिया गरेको र त्यहाँको जनताको आवातजावातको समस्या अत्यन्तै कष्टकर रहेकाले बिकल्प खोज्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

भेटमा प्रचण्डले माडीको समस्या हेरौला नभनी तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभयाे । ‘एउटै जिल्लामा आवातजावत गर्न पनि यति धेरै कष्टकर छ’ प्रचण्डले भन्नुभयाे, ‘बाँदरझुलामा तत्काल सवारी साधन जाने वातावरण, स्थानीय प्राकृतिक साधन स्रोतको नगरपालिकाले कर लिन पाउने व्यवस्था, माडीको सडक कालोपत्रे र आवातजावातको समस्या तत्काल सम्बोधन गर्नुपर्छ । त्यहाँको स्थिति हेर्दा भोलि गरौंला, पर्सि गरौंला भन्ने परिस्थिति छैन ।’



प्रतिक्रिया दिनुहोस्