Logo

कर्मचारी र प्रहरीमा सरकारको हस्तक्षेप : सभापति देउवा



कास्की, ५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाएका छन् ।

काङ्ग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन(सङ्घ) प्रदेश कार्यसमिति गण्डकीले आज पोखरामा आयोजना गरेको प्रशिक्षण तथा सम्मान कार्यक्रममा उनले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यताको खिलापमा कर्मचारी, प्रहरीलगायतमा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको भनाइ राखे ।

सभापति देउवाले भोलिका दिनमा सेना तथा न्यायालयमा समेत हस्तक्षेप गर्ने सम्भावना बढेको भनाइ राखे । सरकारले शिक्षा, निजामती ऐनलगायतका माध्यमबाट कर्मचारी, प्रहरी, सेनालगायतलाई समेत पार्टीका प्रति प्रतिबद्ध बनाउँदै हस्तक्षेप र नियन्त्रण गरिरहेको उनको भनाइ छ ।

“वर्तमान सरकारले कर्मचारीतन्त्र, प्रहरी तथा न्यायलयमा हस्तक्षेप गरेर कब्जा गर्ने षड्यन्त्र गरिरहेको छ ।” सभापति देउवाले भने, “हस्तक्षेप रहिरहेमा सदनमा मात्र नभई सडकमा पनि जानुपर्ने अवस्था आउन सक्छ ।”



प्रतिक्रिया दिनुहोस्