पूर्णप्रसाद न्यौपाने : ओखलढुंगा, ८ माघ । नेविसंघको जिल्ला अधिवेशनको विषयलाई लिएर कांग्रेसका नेताबीच कुटाकुट भएको छ ।
सोमबार बिहान ११ बजे नेविसंघको १२औं जिल्ला अधिवेशन उद्घाटनको कार्यक्रम थियो । अधिवेशनमा सहभागी हुन पार्टीका जिल्लास्थित अधिकांश नेता, कार्यकर्ता र नेविसंघका विद्यार्थी नेता कार्यक्रमस्थलमा पुगेका थिए ।
तर, अधिवेशन सुरु हुनुअघि कार्यक्रममा आसन र भाषण गर्न कसलाई दिने वा नदिने भन्ने विषयमा विवाद भएको थियो । पार्टी सभापति शेरबहादुर देउवा पक्षले चुनावका बेला पार्टीलाई अन्तरघात गरेको आरोप लागेका नेतालाई आसनग्रहण नगराउने बताएको थियो भने रामचन्द्र पौडेल पक्षधरले सबैलाई समेटेर जान भनिरहेको थियो ।
विवादकैबीच नेविसंघका जिल्ला अध्यक्ष प्रदीप बानियाँले औपचारिक कार्यक्रम सुरु गर्न निर्देशन दिए । जिल्ला समन्वय समितिको सभाकक्षमा अधिवेशनको औपचारिक कार्यक्रम सुरु भएलगत्तै कार्यक्रम रोक्न माग गर्दै बाहिर रहेका नेता–कार्यकर्ताले चर्को नारा लगाए ।
केन्द्रीय प्रतिनिधिलाईसमेत बाहिर राखेर गरिएको अधिवेशन मान्य नहुने पौडेल पक्षधरको माग थियो । जिल्ला सभापति प्रदीप सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीले कारबाहीका लागि सिफारिस गरिएको भनिएका नेताहरुलाई प्रवेश गर्न दिइएको थिएन ।
नाराबाजी गर्दै कार्यक्रमस्थल पुगेका पौडेल पक्षधर नेताले जबर्जस्ती कार्यक्रम रोक्न माग गरेपछि कुटाकुटको स्थिति सिर्जना भएको हो ।
सोक्रममा ओखलढुंगा कांग्रेसका पुराना नेता बालकृष्ण दाहालसहित पौडेल पक्षका दर्जनौं नेता–कार्यकर्ता कुटिएका छन् ।
कार्यक्रम रोकेर सहमतिमा अघि बढ्न माग गर्दै कार्यक्रमस्थल पुगेका नेता दाहाललाई कार्यक्रमका सभापतिसमेत रहेका नेविसंघ अध्यक्ष प्रदीप बानियाँ र पार्टीका जिल्ला उपसभापति तेजेन्द्र खनालले मुक्का प्रहार गर्दा चस्मा फुटेको छ ।
त्यस्तै, नेत्री गोमा केसीले आफूलाई जिल्ला सभापति प्रदीप सुनुवारले कुटेको भन्दै प्रहरीलाई गुहारिन् ।कार्यक्रमस्थलमा पुगेर टेबल उचाल्ने प्रयास गरेकी नेत्री केसीलाई सभापति सुनुवारले हुत्याएका थिए । त्यसबीचमा दुवै पक्षका नेता–कार्यकर्ताबीच होहल्ला र कुटाकुट भएको थियो ।
दाहाल अस्पताल भर्ना
कार्यक्रममा कुटिएका नेता दाहाल अस्पताल भर्ना भएका छन् । टाउकोमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको कांग्रेस नेता लीलाबल्लभ दाहालले बताए ।
‘सहिदका पुत्र कांग्रेसको इतिहास बोकेको मान्छे कुटिनुभयो । उहाँलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ’–दाहालले भने ।
जिल्ला अधिवेशन जारी
केन्द्रीय प्रतिनिधि र असन्तुष्ट पक्षको बहिस्कारकाबीच नेविसंघ जिल्ला अधिवेशन जारी छ । केन्द्रीय प्रतिनिधि नेविसंघका केन्द्रीय सदस्य पवन नेपालीले पार्टीको हस्तक्षेपका कारण अर्को निर्णय नहुँदासम्मका लागि अधिवेशन स्थगन भएको विज्ञप्ति जारी गरेका छन् ।
पार्टीभित्रको समस्या देखाएर नेविसंघमा हस्तक्षेप गरेकाले अधिवेशन स्थगन गरिएको नेपालीले बताए । सभापति देउवा पक्षधरका नेता र नेविसंघका करिब आधाजति प्रतिनिधिले अधिवेशनलाई निरन्तरता दिएका छन् ।
उद्घाटनसत्र आज सकेर मंगलबार बन्दसत्रबाट नयाँ नेतृत्व टुंग्याउने नेताहरुको तयारी छ । नेविसंघको विधानविपरीत पार्टीले ठाडो हस्तक्षप गरेका कारण समस्या उत्पन्न भएको नेता लीलाबल्लभको भनाइ छ ।
पार्टी प्रवक्ता राजकुमार ढुंगानाले भने पार्टीले अन्य कुरामा हस्तक्षेप नगरेको तर कारबाही गरिएका नेताहरुलाई आसन र भाषण नदिने अडान लिएको बताए ।