Logo

बेपत्ता र सत्य निरुपण आयोगसम्बन्धी विधेयकमाथि विचार गरियोस् प्रस्ताव स्वीकृत



काठमाडौँ, २० माघ : राष्ट्रियसभाको आजको बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै सङ्क्रमणकालका कार्य टुङ्ग्याउन सबै सहमतिका साथ समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रामनारायण बिंडारीले सङ्क्रमणकालीन अवस्थामा नयाँ ऐन चाहिने भएकाले संशोधन आएको बताउँदै शीघ्र परित गर्नुपर्ने बताउनुभयो ।

सांसद जीतेन्द्रनारायण देवले सङ्क्रमणकालीन मुद्दा सधैँका लागि सुल्झाउन राजनीतिक एकता चाहिएको बताउँदै विषयको जटिलतालाई ख्याल गरेर सरोकार पक्ष सबैसँग छलफल गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद बद्री पाण्डेले शान्तिप्रक्रियाका बाँकी कार्य टुङ्ग्याउन सरकार सुस्त भएको महसुस भएको उल्लेख गर्दै सङ्क्रमणलाई लम्ब्याउन प्रोत्साहन गर्न नहुनेमा जोड दिनुभयो । राष्ट्रियसभाको बैठक एक घण्टाका लागि स्थगन गरिएको छ ।  (रासस)



प्रतिक्रिया दिनुहोस्