काठमाडौँ,२५ माघ । नागार्जुन नगरपालिकामा एक हजार ३५५ घर पुनःनिर्माण भएको छ ।विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका पाँच हजार भन्दा बढी घरमध्ये उक्त घर पुनःनिर्माण गरिएको हो । नगरपालिकाका प्रवक्ता थुमराज केसीले भूकम्पले क्षति पु¥याएका पाँच हजार घरमध्ये चार हजार १०६ घरपरिवारले पहिलो किस्ता र झण्डै दुई हजार परिवारले दोस्रो किस्ता लिएको जानकारी दिनुभयो ।
नगरपालिकाले सरकारले तोकेको रकमअनुुसार पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र घर पुनःनिर्माण भएपछि तेस्रो किस्ताबापत रु एकलाख प्रदान गर्दै आएको छ ।
नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले भूकम्पपीडितको निवेदनका आधारमा नगरपालिकाले पुनःनिर्माणका लागि रकम वितरण गर्दै आएको जानकारी दिनुभयो । “घरको क्षतिलाई हेरेर वडाबाट आएको सिफारिसका आधारमा रकम प्रदान गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाभित्र १६ हजार ७४६ घरधुरी र ६७ हजार ४२० जनसङ्ख्या रहेको छ ।”
यस्तै घर निर्माणका लागि चाहिने आवश्यक काठ भने सहुलियत दरमा द टिम्बर कर्पोरेशन अफ नेपालले वितरण गर्दै आएको छ । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि टिम्बर कर्पोरेशनले जिल्ला वन कार्यालयको निवेदनका आधारमा प्रदान गर्दै आएको हो ।
जबरर्जस्ती करणी गर्ने पक्राउ
महानगरीय प्रहरी वृत्त कालिमाटीले जबरजस्ती करणी गर्ने एकजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–१३ बाफल बस्ने रामेछापका ३८ वर्षीय लीलाबहादुर कार्कीलाई विहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ कार्कीले सर्लाही घर भएकी १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेका थिए । उनलाई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइने वृत्तले जनाएको छ ।
आगालागीबाट ४० लाखको क्षति
क्षेत्रपाटीमा आगालागी हुँदा रु ४० लाख बराबरको क्षति भएको छ । क्षेत्रपाटी न्हेखास्थित बारा घर भएका देवेन्द्रकुमार खनालले सञ्चालन गरेको विप सर्जिकल पसलमा आज बिहान आगालागी हुँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ ।रासस